एक हप्ते चलचित्र निर्माण कार्यशाला

काठमाडौ ।  “एक हप्ते चलचित्र निर्माण कार्यशाला–२०८३”  सफलतापूर्वक सम्पन्न भएको छ ।

दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, तिखेदेवल, ललितपुरमा आज कार्यशालाको समापन गरि कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार, चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा सञ्चालित कार्यशालाले याक्थुङ सभ्यता, मुन्धुम, मौलिक संस्कृति र चलचित्र सिर्जनाबीचको अन्तरसम्बन्धलाई केन्द्रमा राख्दै चलचित्र निर्माणका विविध सैद्धान्तिक, प्राविधिक तथा सिर्जनात्मक पक्षहरूमा गहन अध्ययन तथा अभ्यास गरेको छ । कार्यशालाको चौथो दिनमा मुन्धुम र याक्थुङ सभ्यताको सम्बन्ध, मुन्धुममा निहित कथ्य संरचना, मुन्धुमी कथा प्रस्तुति शैली, पूर्वीय तथा पश्चिमी कथानक संरचना, अभिनय कला, लिम्बू कथा र चरित्र निर्माण जस्ता महत्वपूर्ण विषयहरूमाथि अध्ययन, छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको थियो । यस क्रममा पूर्वीय अभिनय पद्धति, पश्चिमी अभिनय पद्धति र लिम्बू अभिनय शैली, लिम्बू चरित्रको निर्माण, चरित्रको आन्तरिक तथा बाह्य द्वन्द्व, चरित्र विकास, अवरोध र रूपान्तरणका पक्षहरूमा समेत गहिरो अभ्यास गरिएको छ । साथै लिम्बू चलचित्रमा दृश्य भाषा, द्वन्द्वको विकास, द्वन्द्वका तहहरू तथा कथालाई प्रभावकारी बनाउने संरचनात्मक पक्षहरू माथि प्रशिक्षण प्रदान गरिएको छ । चलचित्रका प्राविधिक तथा सौन्दर्य पक्षअन्तर्गत ध्वनि र ध्वनि संरचना, रङ्ग र रङ्ग संरचना, क्यामराको भाषा, लिम्बू चलचित्रमा भूगोलको महत्व, संवाद कला तथा चरित्र अभिव्यक्ति जस्ता विषयहरूमा समेत व्यावहारिक अभ्यास गरिएको थियो ।
कार्यशालामा चलचित्रका प्रकार, संरचनात्मक तथा विधागत वर्गीकरण, लघु चलचित्र तथा वृत्तचित्र निर्माण प्रक्रिया, कथा, पटकथा, संवाद, द्वन्द्व र उत्प्रेरणाको समष्टिगत अभ्यास सहित सहभागीहरूलाई पटकथा लेखनको व्यवहारिक अभ्याससमेत गराइएको बताइएको छ । कार्यशालालाई वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा तथा मानवशास्त्री एवं मुन्धुम अध्येता डीबी आङबुङ ले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार