काठमाडौँ । यशोधा फुड्स प्रा.लि.तिलोत्तमा नगरपालिका–१५, मधवलिया, रुपन्देहीले गुणस्तरहीन भेटिएको एक निश्चित ब्याच बाहेक अन्य सबै ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ।
कम्पनीले सोमबार जारी गरेको सूचनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तरहीन ठहर गरिएको उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए को १०० ग्राम प्याकेटबाहेक अन्य सबै ब्याचका उत्पादनहरू खान योग्य रहेको स्पष्ट पारेको हो।
सूचनाअनुसार उक्त उत्पादन मिति र ब्याच नम्बर भएका चाउचाउबाहेक सोभन्दा फरक उत्पादन मिति वा फरक ब्याच नम्बर भएका सम्पूर्ण ‘करेन्ट हट एण्ड स्पाइसी’ उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीले उपभोक्ता, बिक्रेता तथा आधिकारिक वितरकहरूलाई पनि विवादित ब्याचबाहेकका उत्पादन ढुक्क भएर बिक्री–वितरण तथा उपभोग गर्न आग्रह गरेको छ। यसअघि खाद्य तथा गुण नियन्त्रण कार्यालयले उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउको नमुनामा गुणस्तरसम्बन्धी समस्या भेटिएको जनाएको थियो। त्यसपछि यशोधा फुड्सले उक्त ब्याचबाहेकका अन्य उत्पादन सुरक्षित रहेको भन्दै उपभोक्तामा भ्रम नफैलाउन अनुरोध गरेको छ।


14 पटक हेरिएको 




