धरान उपमहानगरपालिकाको पहलमा २०८३ भदाै ४ गते विजयपुर दरबार परिसरसम्बन्धी विवादबारे सरोकारवाला पक्षहरूबीच छलफल सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाले गठन गरेको विजयपुर क्षेत्र अध्ययन समितिको निर्णयअनुसार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ(कियाछु), किरात राई यायोख्खा(किराया) तथा नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) उपमहानगर समन्वय परिषद् धरानका प्रतिनिधिहरूबीच वार्ता भएको हो ।
छलफलमा किरायाले हटाइएको ‘वाबु’ पुनर्स्थापना गर्न माग राख्दा कियाचुले ऐतिहासिक आधारमा आफ्नो अडान दोहोर्याएको थियो । सङ्घर्ष समिति र चुम्लुङले पुनःस्थापना प्रयासप्रति कडा आपत्ति जनाउँदै बाँकी रहेका संरचना पनि अन्यत्रै स्थानान्तरण हुनुपर्ने माग राखेका छन् । छलफलमा किरायाकाे तर्फबाट भूपाल चाम्लिङ, प्रमिला राईले कुरा राखेकि छिन् । कियाचुबाट धरान सचिव विप्लक थाेक्लेन, विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिबाट प्रवक्ता अमित थेबे, नेफिनबाट धरान सचिव कर्ण सुनुवार, वडा नम्बर १४ अध्यक्ष कृष्ण भट्टराईले आआफ्नो धारणा राखे।
दुवै पक्ष सहमतिमा पुग्न नसकेपछि धरान उपमहानगरपालिकाका कावा मेयर आईन्द्र विक्रम बेघाले इतिहास, तथ्य, दस्तावेज तथा विज्ञहरूको अध्ययनका आधारमा समाधान खोज्नुपर्ने बताएका छन् ।
वार्ता निष्कर्षमा नपुगे पनि आगामी चरणमा पुनः छलफल गर्ने सहमतिसहित बैठक सम्पन्न भएको संघर्ष समितिका प्रवक्ता अमित थेबेले बताए ।


8 पटक हेरिएको 












