पथरी प्रहरीद्वारा मासिक सम्पादित कार्य सार्वजनिक, कति सफल कति असफल ?

पथरी । इलाका प्रहरी कार्यालय पथरीले भदौ महिनामा विभिन्न प्रकृतिका १८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तकाअनुसार  दर्ता भएका मुद्दामध्ये लागूऔषधसम्बन्धी मुद्दा १० वटा रहेका छन्। त्यस्तै जबरजस्ती करणी २, बैङ्किङ कसुर २ र अभद्र व्यवहारसम्बन्धी ३ वटा मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ। केही मुद्दा गम्भीर तथा महिलाबालबालिकासम्बन्धी अपराधअन्तर्गत समेत रहेका छन्।
कार्यालयका अनुसार भदौ महिनामा चालु मुद्दाका प्रतिवादीमध्ये १८ मध्ये १३ जना पक्राउ परेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरीतर्फ ३ वटा उजुरी परेको छ। त्यस्तै, १२ जना हराएकोमा ६ जना फेला परेको र ६ जना बाँकी रहेको देखिन्छ। हराउनेमा महिला ६, पुरुष २, बालिका १ र ज्येष्ठ नागरिक ३ जना रहेका छन्।
घरेलु हिंसातर्फ कुटपिटसम्बन्धी १ वटा उजुरी परेको र उक्त उजुरी मिलाप/फर्छ्यौट गरिएको विवरणमा उल्लेख छ। यसैगरी, कार्यालयमा परेको ठाडो उजुरी २८ वटामध्ये २५ वटा फर्छ्यौट भएका छन् भने ३ वटा बाँकी छन्। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त २ वटा उजुरी पनि फर्छ्यौट गरिएको छ।
इलाका प्रहरी कार्यालय पथरीले अपराध अनुसन्धानसँगै फरार प्रतिवादी पक्राउ, उजुरी फर्छ्यौट तथा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार