उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी नगरपालिका–४ भानु मार्गमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक २६ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो।
कात्तिक २५ गते राति करिब १० बजेर ३५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा फेला पारेको हो।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद २२ हजार २ सय रुपैयाँ र तासका दुई बुङ बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ का ३२ वर्षीय शिव निधि, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३९ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४१ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्की रहेका छन्।
पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


11 पटक हेरिएको 











