पथरी । ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८३’ मा लोकसागर साम्बा दोस्रो पटक नगर च्याम्पियन भएका छन ।
बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिले पथरीको एभरेष्ट बोर्डिङ स्कुलमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुकार राईलाई पराजित गर्दै ८ खेलमा ८ अंकसहित च्याम्पियन बनेका हुन् । पथरी शनिश्चरे-२ का साम्बा गत बर्षपनि च्याम्पियन बनेका थिए । प्रतियोगितामा ६ अंक सहित पथरी शनिश्चरे-७ का पुकार राई दोस्रो र समान ६ अंक प्राप्त गर्दै पथरी शनिश्चरे-१ का अनिश तामाङ तेस्रो भएको आरबिटर डम्बर बाछना राईले बताए ।
महिला र अन्डर १६ को च्याम्पियन छान्न प्रतियोगितामा टप ५ लाई १०/१० मिनेटको पुन ४ राउण्डको खेल खेलाइएको थियो । पछिल्लो प्रतियोगितामा अपराजित रुपमा ४ अंक लिएर सेम्रिल राई महिला च्याम्पियन बनेका हुन् । सेम्रिल राई एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् । महिलातर्फ कीर्तिपुर एकेडेमीकी समिरा राई, पन्चायत माबिकी कृष्टि राई, पन्चायतकी हेन्खाम्मा राई र एकेडेमीकी करुणा राईले क्रमश: दोस्रोदेखि पाँचौ पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी अन्डर १६ (बर्ष उमेर)मा सिद्धान्त कन्दङ्वा च्याम्पियन भएका छन् । कन्दङ्वाले ४ खेलमा ३.५ अंक ल्याएका थिए । कन्दङ्वा पनि एभरेष्ट स्कुलको कक्षा १० मा अध्ययनरत छात्र हुन् । अन्डर १६ मा रिदम राई, कीर्तिपुर एकेडेमीका छात्र दिप्सन अधिकारी, बाल जागरण स्कुलका छात्र अन्जल थापा र पन्चायत का छात्र रोहन विकले क्रमशः दोस्रोदेखि पाँचौ पुरस्कार प्राप्त गरेका छन् ।
नगर च्याम्पियनलाई १० हजार, दोस्रोलाई ५ हजार तेस्रोलाई ३ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी महिला र अन्डर १६ का च्याम्पियनहरुलाई ट्रफीसहित ५ हजारको दरले नगर र दोस्रो हुनेलाई ४ देखि पाँचौसम्मलाई १ हजार मेडल, प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथि चण्डीप्रसाद राईको हातबाट प्रदान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अथितिहरु भएरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रविन कन्दङ्वा, दिनेश कन्दङ्वा, फ्रेण्डसीप चेस क्लवका अध्यक्ष अमिर राई, पञ्चायत माविका खेल शिक्षक नरेश राई लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो । बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिका उपाध्यक्ष तुलशी भण्डारीको सभापतित्वमा भएको कार्यक्रम सचिव पुकार राईले सञ्चालन गरेका थिए ।
‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८३’ को प्रायोजन पथरीशनिश्चरे १ मा स्थापित एभरेष्ट स्कुलका सञ्चालक रबिन कन्दङवा र दिनेश कन्दङ्वाले गरेका थिए । स्वर्गीय सुशिला कन्दङ्वा एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक चन्द्रमान कन्दङ्वाको धर्मपत्नी हुन् । सीएम कन्दङ्वा यस क्षेत्रका शैक्षिक अभियान्ता, कम्युनिष्ट पार्टीका विचारक/संगठक र साहित्यिक क्षेत्रमा परिचय बनाएका व्यक्ति थिए ।
नगर स्तरीय बुद्धिचाल खेलको सुक्रबार (२७ कार्तिक)मा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट उद्घाटन भएको थियो । ६० जना खेलाडी सहभागी खेल चारदिनसम्म चलेको थियो ।


7 पटक हेरिएको 










