आस्फोर्ड , केन्ट(बेलायत) । युमा साम्यो महासभा, यूकेले वर्षेनी बिक्रम सम्बतको मंसिर १ गते मनाउँदै आएकोमा यो बर्स पनि तकसोक थिसोक फिम्मा (चासोक) तङनाम भब्य रुपमा मनाएको छ ।
महासभाका अध्यक्ष दिल पालुङ्वाको सभापतित्वमा सम्पन्न सो पुजा अनुष्ठान तथा पर्व उत्सब कार्यक्रममा येबा दल बहादुर फुरुम्बो प्रमुख अतिथि थिए । पुजा अनुष्ठान तथा उत्सबमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय प्रतिनिधि सकुन नेम्वाङ, किरात धर्म तथा साहित्य उत्थान संघ युकेका केन्द्रीय सचिब ग्यानुहाङ फुरुम्बो, तमु संघ केन्टका प्रतिनिधि, सगरमाथा नेप्लिज लिम्बुवान नागरिक समाज युकेका प्रतिनिधि, याक्थुङ वेन्छा चुम्भो युकेका केन्द्रीय सचिब सुरेन्द्र थेबे, याक्थुङ थामेन्दिङ्माका प्रतिनिधि, याक्थुङ अग्रज ब्यक्तिहरु कृश्न कुमार हेम्ब्या, टङ्क वनेम, डम्मर सिङ्गक, छत्र वनेम लगायतको उपस्थिति रहेको थियो । आफ्नो घरबाट तक्सोक थिसोक पुजाका लागि घरबाट फुल, फलफुल, भेटी पैसा, अक्षता चामल लिएर पबित्र हृदयका साथ भक्तजनहरूको कार्यक्रममा सहभागी भएका थिए । महासचिब लालहाङ थलङले पुजा अनुष्ठान तथा पर्व उत्सब कार्यक्रम सन्चालन गरेका थिए। उपाध्यक्ष हरिभक्त आङबुहाङबाट स्वागत मन्तब्य राखेका थिए ।
चासोक तङनाम सुरु हुनुमा मुन्धुमले दर्साएका घटनाहरुको पृष्ठभूमि महत्त्वपूर्ण छ । यो पर्व मुन्धुमी सभ्यताको हजारौं बर्सको यात्रामा प्रारम्भिक कालको स्थायी बसोबास सुरुगर्दाको कृषि युगिन समाजका याक्थुङ पुर्खाहरूले निर्माण तथा बिकास गरेको सहजै अनुमान लाउन सकिन्छ । यसको आफ्नै मौलिक सांस्कृतिक तथा धार्मिक महत्व छ । साम्जिक मुन्धुम अनुसार सावा येतहाङ कालिन समाज देखि निरन्तर अस्तित्वमा रहेको यो चाड मानबका लागि अन्न अन्नबालीको अपरिहार्यता र त्यसको सदुपयोग गर्ने कुरा तथा महत्त्व सङ सम्बन्धित छ ।
यो पर्व उत्सब कार्यक्रमलाई दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा हल बाहिर खुल्ला प्राङ्गणमा युमा धर्मका पुजारी येबा दलबहादुर फुरुम्बो र यागाप्ची दिलेन्द्र लाबुङले मुन्धुम बाचन गर्दै घर बाहिर बस्ने अनेकौ देबदेबीहरूलाई पुकार, प्रार्थना सहित माङ्दे हाङदे साक्मुरा वादेम्मा (गाली राप), कुइकुदाप तथा ताप्थेङ अनुष्ठान सम्पन्न भयो । सहभागी धर्मवलम्बीहरूले मुन्धुमी सभ्यता बिकास क्रमको लामो यात्रामा आजसम्म आइपुग्दा आफ्ना पुर्खाहरु र आफु सम्मले भोगेको ब्यहोरेको बिबिध खाले गालीसरापहरु, धिक्कारेका, दुत्कारेका अपवचनहरु साथै अन्य नकारात्मक पक्षहरुलाई फ्याल्ने, त्याग्ने ,भगाउने,बगाउने कार्य फेदाङमाको निर्देशनमा सत बिज फ्याल्दैगर्दा ती नकरात्मक पक्षहरुबाट मुक्ति र शान्ती पाएका अनुभुत गरेझै देखिन्थे । हिमाल, पहाड, भञ्ज्याङ् , खोच , भिर, पहरा देखि तराई सम्म, बनजङ्गल ,पोखरी देखि समुद्र सम्म फैलिएका बलि लाग्ने, नलाग्ने अत्याधिक समबेदनशिल तथा छिट्टै क्रोधित हुन सक्ने साम्माङलाई पुजा, मानमनितो गर्दा खुशी भएको र उनिहरुको बक्रदृष्टिले निम्त्याउन सक्ने असरको भय हटेर गएको आत्मबिस्वास प्रत्येक भक्तजनको हाउभाउमा देखिन्थ्यो ।
त्यस पश्चात् दोस्रो चरणमा हल भित्र नया बाली पाके पछि आफुले खान अघि सो बालीबाट बनाइने सुद्द चोखो खाना ‘तक्सोक’ र नया बाली चोखो कोदोबाट बनाइने पेय पदार्थ ‘थिसोक’ मात्रै स्विकार्ने चाबिन थिबिनदाङ्मा युमा माङ (याक्थुङरेन कुन्दाङमा/कुल इस्वर) र कुगाप्ला साम्माङहरू सिनयुक मुदेनहाङमा, तेमेनवरङहाङमा, काप्पोबा र सबालाई चाङखोर्याङ, फलफुल, तक्सोक , थिसोक चढाएर पुजा गरिएको थियो । युके भित्रका रहेका र सन्सारभर छरिएका याक्थुङ युमा धर्मवलम्बिहरु साथै सबै मानवहरुलाई धनधान्य,सुख,शान्ती,उन्नति, प्रगती, समृद्धि मिलोस भनी युमा माङ सङ अनुरोध, पुकार प्रार्थना गरेर भक्तालुहरुले आध्यात्मिक परम सुखानुभुत प्राप्त गरेको झल्को पाइन्थ्यो ।
अध्यक्ष पालुङ्वाले तङनाम सम्पन्न गर्न आर्थिक तथा भौतिक सहयोग गर्ने र सहभागी सबैलाई धन्यवाद दिनुका साथै सबै याक्थुङ युमा धर्मवलम्बीको घरमा धनधान्य, सुख, शान्ति समृद्दि, उन्नति, प्रगति आओस र खुशियाली छाओस भनी सुभकामना पनि दिए । साथै युमा धर्मवलम्बी याक्थुङ अधिकारकर्मी चन्द्र गोपाल चेम्जङले नेपाल प्रदेश नम्बर १ लिम्बुवानमा सरकारी प्रादेशिक कामकाजी भाषाको रुपमा सिरिजङा लिपिमा लेखिने गरि याक्थुङ भासालाई मान्यता दिएको प्रति खुसीयाली प्रकट गर्दै सयौ दिप प्रज्वलनको अनुरोध गर्दा उपस्थित दर्जनौँ पाहुना र सहभागीहरूले साथ दिएका थिए। त्यपछी भगवती थलङ र दिलेन्द्र लाबुङले खाँटे तमोरखेले इम्बिरी याङथाङवा भाकामा पालाम गाउदा सबैले सामुहिक याराक्मा गरेर हल उल्लासमय भएको थियो । कमलध्वज आन्छ्ङ्बोको अगुवाइमा केसाङला सहित के/च्याब्रुङ बजाउदै कलाकारहरूले आकर्षक केलाङ नृत्य प्रस्तुत भएको थियो । सिजङवा, तङबा, याङबेन, वाथिन, फादो अचार, फाक्सा लगायत बिबिध मौलिक कुवाकुजा परिकारहरू सहभागिहरूको लागि उपलब्ध थिए । अन्तमा सहभागी सबैलाई युमा माङको आशिर्वाद, कृपा , माङ्वा हाङवा, रक्षा स्वरुप हुक्वा अक्षेता बाडिएको थियो ।


34 पटक हेरिएको 











