बोक्रेचोक (मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–२, कालापानीमा आयोजना हुने प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ।
कालापानी युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ अन्तर्गत मंसिर १२ गते जलथल फुटबल क्लब र चिल्ड्रेन हार्ट फुटबल एकेडेमीबीच उद्घाटन खेल हुनेछ। त्यसैगरी मंसिर १४ गते धरान–११ फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, समूह ‘बी’ अन्तर्गत मंसिर १३ गते मोतीराम स्पोर्टिङ क्लब र छत्य सा फुटबल क्लबबीच खेल हुनेछ भने मंसिर १५ गते आयोजक कालापानी युनाइटेड क्लब र तालतलिया फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दुवै समूहबाट छनोट भएका टिमबीच मंसिर १६ गते समूह ‘ए’ को सेमिफाइनल र मंसिर १७ गते समूह ‘बी’ को सेमिफाइनल खेल सञ्चालन हुने तालिकामा उल्लेख छ। प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते हुनेछ।

‘कालापानी युनाइटेडको आह्वान, खेलकुद विकास हाम्रो अभियान’ भन्ने नारासहित २०८३ सालमा स्थापना भएको क्लबले प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।


14 पटक हेरिएको 












