माङसेबुङ गाउँपालिका धनी पुर्जा बाढने तयारीमा

 माङसेबुङ(इलाम) । इलामको माङसेबुङ गाउँपालिकाले मंगलबारबाट निस्सा बितरण कार्य सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा बितरण गरेको हो ।

माङसेबुङ ६ स्थित चिसोपानी पञ्चमी बजारमा विशेष कार्यक्रम आयोजना गरेर पालिकाले उनीहरुलाई जग्गा धनी प्रमाणपुर्जा वितरणको लागि कार्य अघि बढाएको हो । धनीपूर्जाका लागि फारम भरेका निवेदकहरुको विवरण कम्युटरमा प्रविष्ट गर्ने कार्य सम्पन्न गरी निस्सा वितरण कार्य थालिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । ‘राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा हामी छिटो भन्दा छिटो माङसेबुङवासीहरुलाई जग्गाको मालिक बनाउने योजनाका साथ अघि बढेका छौं’, अध्यक्ष राईले भने । यसका लागि निस्सा वितरणको कार्य सम्पन्न भए लगत्तै जग्गा नापजाँचका लागि आवश्यक कार्य थाल्ने उनले जानकारी दिए ।

 

माङसेबुङ गाउँपालिकाभरका २ हजार ५ सय ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपूर्जा दिने तायारीसहित निस्सा वितरण सहित कार्य थालनी भएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङको भनाइ छ । माङ्सेबुङ ६ बाट सुरु गरिएको निस्सा वितरण कार्यक्रम क्रमशः वडा नम्बर ३ मा १७ गते, वडा नम्बर ५ मा १८ गते, वडा नम्बर ४ मा १९ गते, वडा नम्बर २ मा २५ गते र वडा नम्बर १ मा २६ गते वितरण गर्ने गरी कार्य प्रारम्भ भएको गाउँपालिकाका प्रवक्ता सुसन राईले बताए ।

फारम प्रविष्ट भएको आधारमा माङसेबुङभर भूमिहीन दलित २४ जना, भूमिहीन सुकुम्बासी २२८ र अव्यवस्थित बसोबासी २३ सय ६ जना रहेका माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहानले कार्यक्रममा जानकारी दिए । ‘भूमिहीन सुकुमबासीहरुलाई आवास क्षेत्रको लागि बढीमा ३४० वर्ग मिटर वा कृषि प्रयोजनका लागि बढीमा ३ हजार वर्ग मिटर जमिन प्राप्त हुने छ । अव्यवस्थित बसोबासीका लागि आवास क्षेत्र बढीमा १ हजार वर्ग मिटर वा कृषि प्रयोजनका लागि अधिकतम १० हजार वर्ग मिटरसम्म जमिन उपलब्ध हुनेछ’, चौहानले भने । २०७७ सालमा फारम भर्न छुटेका सुकुमवासी र अव्यवस्थित बसोबासीले आउँदो कार्तिक ३ गतेसम्म फारम भर्न सक्ने उनको भनाइ थियो ।

‘आज बल्ल जग्गा मेरै नामको होला भन्ने आशा पलाएको छ । अब छिट्टै पुर्जा पाए हुन्थ्यो’, बाजेको पालादेखि भोग्दै आएको २० रोपी जग्गाको निम्ति आवेदन दिएका माङ्सेबुङ ६ का शेरबहादुर राईले खुशी हुँदै भने । राई जस्तै जग्गा भोगको निस्सा प्राप्त गरेका अर्का वृद्ध माङसेबुङ ६ दमाहारका धनबहादुर तिम्सिनाले पनि आफूहरु अबको केही दिनमा जग्गाको मालिक हुन पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका थिए । उनले तीन पुस्ता अघिदेखि भोग्दै आएको पाँच रोपनी जमिनका लागि आवेदन भरेको हरप्रहर न्यूजलाई बताएका थिए ।

 

भूमि आयोगको समन्वयमा पहिलो पटक वडाका अवेदकहरुलाई निस्सा वितरण कार्य थालिएको वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप कुमार साम्पाङले जानकारी दिए । उनले भने –‘आज निस्सा वितरण कार्यक्रमको थालीसँगै केही वडावासीलाई निस्सा उपलब्ध गराएका छौं । भोलिबाट वडा कार्यालयबाटै आवश्यक प्रमाण हेरी निस्सा वितरण सुचारु गरिने छ ।’

वडा नम्बर ६ मा भूमिहीन दलितको कुनै आवेदन परेको छैन भने भूमिहीन सुकुमबासी ९ जना र अव्यवस्थित बसोबासी ३७८ जना गरी ३८७ परिवारलाई जग्गा भोग वापतको निस्सा उपलब्ध हुने पालिका स्रोतले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसी, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङलगायतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार