शनिश्चरे(मोरङ) । कान्छाराम कन्स्ट्रक्सन कम्पनीले काम छाडेर हिडेपछि धुलोबाट पीडित मनमोहन गान्धी मार्गका उपभोक्ताहरुले सडकमै पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन् ।
पटक पटक चेतावनी दिदा सुनुवाइ नभएपछि मंगलबार विहानदेखि पथरी शनिश्चरे ९ स्थित महेन्द्र चोक, रिगुवा, शनिश्चरे बजारमा स्थानीयबासीले ढाट र ढुङ्गाहरु राखेर सडक अवरोध गरेका छन् । ढाटमा `सरकारको अनुभूति भएन´, ´बाटो बनाउन मिल्दैन र?´ जस्ता प्ले कार्ड राखिएको छ । स्थानीय वीरेन्द्र गुरुङको संयोजकत्वमा १ सय ३५ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका छन् । पीडितहरुले बुधबार दिउँसो आन्दोलनबारे पत्रकार सम्मेलन गरि आफ्नो मागहरू बारे सुनाए । दुई दिन सडक बन्द हुँदा पनि स्थानीय सरकार र ठेकदार कम्पनीले कुनै चासो देखाएको छैन । संघर्ष समितिका संयोजक वीरेन्द्र गुरुङले कान्छाराम कम्पनीले सडक निर्माण सुरु नगरेसम्म बन्द नखोल्ने र चरणबद्व आन्दोलन गर्ने जनाए ।
गान्धी मार्गले मोरङको पथरी शनिश्चरे नगरपालिका, सुनवर्षी नगरपालिका र रङ्गेली नगरपालिका जोडछ । सो अन्तर्गत पथरी शनिश्चरे १० भुटानी शरणार्थी शिविर-शनिश्चरे-केचना-दोहमुना जोडने बाटोको चौडाइ ६० फिट र लम्बाइ २५ किलोमिटर भन्दा बढी छ । पूर्ण तामाङ(कान्छाराम)को सो कान्छाराम कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ९४ करोड ९४ लाखमा टेन्डर पारेको स्थानीय प्रेम वनेम लिम्बूले बताए ।

कालोपत्रे (पुरानो) उप्काएर ग्राबेल लगाएर हिडेपछि निर्माण कम्पनी करिव दुई बर्षदेखि बेपत्ता छ । अलपत्र छाडिएपछि यातायात चलाउनमा समस्यासँगै सडक पूर्ब पश्चिम किनारमा रहेका उपभोत्ताको घर बर्खामा हिलो र हिउदमा धुलोले पुर्ने गरेको छ ।
सडक छेउमा भएको घरलाई धुलोले छपक्कै छोप्ने भएकोले करिव २ बर्षदेखि सुद्ध खाना खान र लुगा धोएर सुकाउन नपाएको पीडितहरुको भनाइ छ । सडक अलपत्र छाडेर ठेकदार हडेपछि स्थानीय उपभोक्ता मात्र होइन, खाल्डाखुल्डी र धुलोको कारण उक्त सडक भएर यात्रा गर्न कठिन भएको संघर्ष समितिको सहसंयोजक सुमन वनेम लिम्बूले बताए । सडक पुन निर्माण सुरु हुनु अघि उपभोक्ताहरुले लागत योजना हेर्ने र गुणस्तरमा निगरानी गर्ने स्थानीय प्रेम वनेम लिम्बूले बताएका छन् । अधिकार क्षेत्र भन्दा बाहिरको विषय हो भन्दै जनप्रतिनिधिहरु पन्छिएको प्रति प्रभावित स्थानीयबासीको आपत्ति रहेको जनाउदै उनले सरोकारवालाहरुलाई चाडो भन्दा चाडो माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।

पथरी शनिश्चरे वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने, ८ का अध्यक्ष नवीन कार्की र ९ का अध्यक्ष वीर बहादुर राईले कात्तिक २१ गते तत्काल काम सुचारु गर्नुपर्ने माग गर्दै सार्वजनिक वक्तव्य जारी गरेका थिए ।


127 पटक हेरिएको 








