पथरी । गुरुङ समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले भने, `मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ। तसर्थ, देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।´
पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतको रुपमा तमु जातिले ल्होसार पर्व मनाउने गर्छ । प्रधानमन्त्री दाहालले ल्हासारको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको जनाउँदै उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए । उनले भनेका छन्, `लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो। यस विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ।´
नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको बताउदै राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने उनको भनाइ छ ।