खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीले बाढीपीडितलाई सहयोग

शनिश्चरे (पथरी, मोरङ)। भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४, मोरङमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितका लागि रु. १३ हजार ६ सय ४५ सहयोग गरेका छन् ।

विद्यार्थीहरूले आफ्नो ससाना व्यक्तिगत खाजा खर्चबाट रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक तथा नेपाल युवा रेडक्रस सर्कलकी संरक्षक जानकी चेम्जोङले ससाना बालबालिकाले आफ्नो दुई–तीन दिनको खाजा खर्चसमेत बचाएर विपत्तिमा परेका नागरिकको सहयोगका लागि रकम सङ्कलन गरेको बताइन् । “विद्यार्थीहरूले आफ्नो सानो खर्च कटाएर बाढीपीडितको घाउमा मलम लगाउन गरेको प्रयास अत्यन्त प्रशंसनीय छ,” उनले भनिन् ।
विद्यालयका सहायक प्रधानाध्यापक शैलेन्द्र बस्नेतले राहत सङ्कलनमा नेपाल युवा रेडक्रस सर्कलका पदाधिकारीहरूले देखाएको सक्रियताको प्रशंसा गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । शिक्षक चेतनाथ पौडेलले विद्यार्थीहरूमा मानवता, परोपकार र सहयोगको भावना जागृत भएकोमा आफूहरू गर्वित भएको बताए । उनका अनुसार पाठ्यपुस्तकको ज्ञानसँगै विपत्तिमा परेकालाई सहयोग गर्ने संस्कारले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ ।
नेपाल युवा रेडक्रस सर्कलका अध्यक्ष सागर नेपालीले सहयोग रकम जुटाउन साथ दिने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सर्कलले रचनात्मक गतिविधिलाई निरन्तरता दिने बताए । विद्यार्थीहरूले गरेको यो अभियानले सानो सहयोगले पनि विपत्तिमा परेका परिवारप्रति ठुलो मानवीय साथ र सद्भाव व्यक्त गर्न सकिने सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार