पथरी । ‘पाथीभरा क्षेत्र विकास समिति’को सट्टामा ‘मुक्कुम्लुङ क्षेत्र विकास समिति’ हुनुपर्दछ भन्ने माग गरिएको छ ।
पुष २६ गते किरात याक्थुङ चुम्लुङ्ले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । चुम्लुङ्ले भनेको छ, `पाथीभरा क्षेत्र विकास समिति’को सट्टामा ‘मुक्कुम्लुङ क्षेत्र विकास समिति’ हुनुपर्दछ भन्ने समुदायको मागलाई अविलम्ब लागू गरिनुपर्दछ ।´मुक्कुम्लुङ याक्थुङ/लिम्बु आदिवासी समुदायको आध्यात्मिक मुन्धुमी आस्थाको स्थल (Sacred Site) रहेकोे भन्दै फे़दाङ्मा, साम्बा, ये़बा, ये़माहरूले अलौकिक शक्तिका रूपमा मुक्कुम्लुङ, सेमुक्ति:त्गोक् (सेसे मुक्ति:त् कोक्मा), सेमुक्ति:त्फो, सेमुक्ति:त्पुङ माङ लगायत विविध नामले पुकार्दै, पुज्दै ल्याएको आदिम पवित्र आस्थाको धरोहर रहेको चुम्लुङ्ले बताएको छ । चुम्लुङ्ले मुक्कुम्लुङमाथि भइरहेको अतिक्रमणकारी कार्य नेपालको संविधान २०७२ को धारा २६ तथा धारा ३२ अनुरूप समुदायको धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषय राज्यले हस्तक्षेप गर्नै नपाइने प्रावधान विपरीत रहेको जनाएको छ । त्यस्तै आदिवासीहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणा पत्रको धारा ८ मा आदिवासीमाथि धार्मिक हिंसा तथा सांस्कृतिक र आध्यात्मिक अतिक्रमणलाई नरसंहार (Genocide) भनेको उल्लेख गर्दै नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनको जगमा उभिएर निरन्तर खबरदारी गरिरहेको जानकारी गराएको छ । आदिम पवित्र स्थल मुक्कुम्लुङ संरक्षण गर्नका लागि संसारभरका याक्थुङ/लिम्बुहरू एकजुट भएर बलिदानीपूर्ण सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।



182 पटक हेरिएको 












