दमक । झापाको पशुहाट दमकमा याक्थुङ साम्लो महोत्सव २०८० आजबाट सुरु भएको छ ।
लिम्बू कलाकर्मीहरुको संगठन फक्तालुङ सांस्कृतिक मञ्चले आयोजना गरेको दुई दिने साम्लो महोत्सव, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले उदघाटन गरे । उदघाटन अघि मौलिक पहिरनमा सजिएर प्लेकार्डसहितको र्यालीले नगर परिक्रमा गरिएको थियो ।
कार्यक्रममा माङलाङ, के:लाङ, येबा लाङ, साम्लोसहित वक्ताहरुले सम्बोधन गरेको थियो । मञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार सेर्मा यादनले महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुति रहने बताए।
`याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो´मूल नारासहित सञ्चलित महोत्सवको मुख्य उद्देश्यले लिम्बू समुदायभित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान, संरक्षण र सम्वर्द्धनसहित विश्वव्यापी प्रचारप्रसार गरि पछिल्लो पुस्तासम्म पुर्याउने रहेको मञ्चको दावी छ । प्रवेश निःशुल्क रहने महोत्सवको दोस्रो दिन भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र प्रस्तुत हुनेछ ।
यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो पटक तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो ।


117 पटक हेरिएको 








