अमित याक्थुङबा ‘मिहाङ’
स्थानीय पाठ्यक्रम राख्ने क्रममा धरान उपमहानगरपालिका सरकारले कक्षा-६ अन्तर्गत ‘हाम्रो धरान’ पुस्तकमा विजयपुरगढी र दरबार परिसरबारे भ्रामक जानकारी दिएको छ । लिम्बुवान र विजयपुरकाे सेनकालीन इतिहासबारे पुस्तकका सम्पादक, लेखकहरू र पाठ्यक्रम स्वीकृत गर्ने निकाय अनभिज्ञ भएको देखियो ।
विजयपुरका संस्थापक पाल्पाका सेनवंशी नभएर लिम्बुवानका याक्थुङ वंशीहरू हुन् । पाल्पा चाैबिसे राज्यअन्तर्गतका एक राज्य हुन् । यसका शक्तिशाली राजा मुकुन्द सेन हुन् । विजयपुरका राजा भताभुङ्गे राजा हाेइन । गाेर्खाली र आर्य शाषकहरूले ‘भताभुङ्गे दरबारका लथालिङ्गे राजा’ भनेर अफवाह फैलाएका मात्र हुन् ।
विजयपुरका संस्थापक विजयनारान राय लिम्बु हुन् । उनी वि.सं. १६४१-१६६६ सम्म राजा भएको इतिहासकार इमानसिङ चेम्जोङले लेखेका छन् । थिवाेङ याक्थुङ(दश लिम्बु) शाषकमध्ये साेइयाक लादाेहाङ चाैबिसे थुमका राजा भए । उनकाे गढी साँघुरीगढी हाे । जुन भेडेटारनजिक तीन किलोमिटर पर छ । उनका सन्तति विजयनारान भएको मत छ । अर्को तर्फ, माेरङ राज्यका शाषक साङलाइङकाे वंश वृक्ष पनि जाेडिन्छ । साङलाइङका छाेरा पुङलाइङले राजा भएपछि हिन्दु मत धारण गरेर अमर राय भए । साङलाइङ र पुङलाइङ याक्थुङ समुदायको साक्वादेन/साैदेन थरमा भटिन्छ ।
पुङलाइङ अर्थात् अमर रायपछि कीर्तिनाराण, अपनारायण, जारेनारायण, इङदिङनारायण र विजयनारायण राजा भए । विजयनारायणले साँगुरीगढी र वाराताप्पाकाे बीच १७ ओैँ शदीमा एक सहर बसाए । जसको नाम विजयपुर राखे । त्यस्तै, भव्य दरबार बनाए । जुन विजयपुर दरबारका नामले चिनिन्छ ।
विजयनारान रायले पहाड अर्थात फेदापका राजा मुरेहाङ खेवाङसँग सम्झाैता गरेर उनलाई पहाड-मधेशका शाषक बनाए । उनी विजयपुरका चाैतारिया भए । जबकि, विजयपुर चाहिँ माेरङ-मधेश र पहाड(फेदाप) दुवैको राजधानी बन्याे । पछि, आन्तरिक कलह हुँदा मुरेहाङले मृत्युुदण्डले पाएपछि छाेरा बाजहाङ(बाजु) रायले प्रतिशाेध लिन मकवानपुरका राजा लाेहाङ सेनसँग सहायता मागे । लाेहाङ सेनले विजयपुर कब्जा गरे । बाजु रायकाे युद्धका क्रममा गिद्दे पहाडमा मृत्यु भयाे । विजयपुर-माेरङ कब्जा गरेपछि लाेहाङ सेनले आफूलाई त्यहाँका शाषक घाेषणा गरे । बाजु रायका छाेरा पानाेहाङ खेवाङ उर्फ विद्याचन्द्र रायलाई राजकाजकाे जिम्मा दिएर मकवानपुर फिरे । त्यसपछि, विजयपुर सेनमकवानवंशकाे शासनअन्तर्गत आएको हाे । यद्यपि, विजयपुर राज्यले पूर्ण स्वायत्तताको उपभाेग भने गरेको थियोे । जुन १८३१ सम्म कायम रह्यो ।
विसं १८३१ साउन २२ अगाडि विजयपुर बेग्लै राज्य थियो । सेनकालीन स्याहामोहोरहरूमा सेन राजाका चौतारिया बुद्धिकर्णले विजयपुरबाट रामभक्त पण्डितलाई विसं १८२४ मा र तुलाराम पण्डितलाई १८२९ मा स्याहामोहोर गरिदिएको इतिहास छ । कामदत्त सेनको हत्या भएपछि उनी विजयपुरका हर्ताकर्ता भए ।
इतिहासकार चेम्जोङका अनुसार बुद्धिकर्णले राजाको हैसियतले सामो राय र अहुम रायलाई विसं १८२६ मा सेवामा रहन अनुरोध गरेका थिए । इतिहासअनुसार धरानको बूढासुब्बा मन्दिर परिसरमा बुद्धिकर्णलाई गोर्खाली सेनाले हत्या गरेका थिए ।
विजयपुरका चाैतारियाकाे वंशमाथि अरुणपूर्वका देवानहरूकाे पनि दाबी छ । त्यस्तै, विजयनारानका वंशउपर सातरेनुहाङ तुम्बाहाङ्फेहरूले पनि दाबी गर्छन् । फेदाप थुमका शाषक सेन्सेमगुम फेदापहाङका वंशहरू सिदिइङ र साङलाइइङ भएको इतिहास छ । विजयपुरका शाषककाे कुटुम्ब थिन्दाेलुङ खाे?याहाङवंशी मेन्याङ्वाे/आङबुहाङसँग पनि जाेडिन्छ । उनीहरूकै चेली थाङसाङओतीकाे स्मृतिमा पाेखरी खनिएको चर्चा छ । जुन कालान्तरमा ‘सरस्वती कुण्ड’ भनेर हिन्दूहरूले नामकरण गरे ।
यतिबिघ्न धेरै इतिहास हुँदाहुँदै पनि लेखकहरूले गृहकार्य नगरी विजयपुरगढी शीर्षकमा हचुवाका भरमा लेख्नु र हज्जारौं विद्यार्थीहरूलाई गुमराहमा राख्ने जानकारी दिनु खेदजनक छ ।
विजयपुर दरबार परिसर क्षेत्रकाे खास क्षेत्रफल सूचीकरण हुन बाँकी छ । दरबार परिसरकाे क्षेत्रफल साँघुरीगढी नजिक रहेको पश्चिमकाे सुलिकाेट, पूर्वको ठिङ्गाबारी हुँदै वाराताप्पा, दक्षिणकाे चारकाेसे झाडी र उत्तरमा रहेको महाभारत पर्वतमुनिकाे रेञ्जबाट अध्ययन अनुसन्धान गरेर मात्रै किटान गर्न सकिन्छ । हामीले देखिरहेको र भनिरहेकाे विजयपुरगढी मात्रै केही संरचना हाे ।
विजयपुर दरबार(Bijayapur Palace), विजयपुर दरबार परिसर(Bijayapur Durbar Square) र विजयपुर राज्य(Bijayapur State) तीन बेग्लाबेग्लै कुराहरू हुन् ।
धरानकाे पुरानो नाम नै विजयपुर हाे । ‘आरा काट्ने ठाउँ’ लाेककथा जस्तो मात्रै हाे । विजयपुर जीवित इतिहास हाे । शाषकीय इतिहास र पुरातत्त्वसँग सम्बन्धित विषय पनि हाे । दरबार परिसरबारे पर्याप्त खाेजबिन गरेर स्थानीय सरकार र प्रदेश सरकारले सम्पदाका रूपमा विकास गर्नुपर्छ । विजयपुर दरबार परिसर विश्व सम्पदा सूचीमा सूचीकृत हुनुपर्छ ।
#bijayapurdurbarsqaure
#bijayapurhistory