पथरी । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न चेतावनी दिएको छ ।असोज १३ गतेको कार्यक्रम पनि रद्द गर्न मुख्यमन्त्री कार्कीलाई सालिन आग्रह समितिले गरेको छ।
समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘संघर्ष समितिको यो अनुरोधलाई अटेर गरेर जबरजस्ती गरिएमा घोषित आन्दोलनको कार्यक्रम अनुरुप सशक्त जनप्रतिरोध हुने सम्बन्धित सबैमा सचेत गराउँदछौं । यो परिस्थितिबाट हुने सबैखाले क्षतिको जिम्मा कार्की र कार्की नेतृत्वको सरकार स्वयं हुनेछ ।’
समितिले कोशी नाममा मतदान गर्ने एमाले, कांग्रेस र माओवादीका ८२ जना प्रदेश सांसद र पहिचानकाे आन्दोलनलाई होच्याउने एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, र एमाले नेता योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेश १ का जिल्लाहरुमा प्रवेश रोक लगाएको थियो ।
संघर्ष समितिले नाम खारेज गरी पहिचानको आधारमा नामकरण नगरेसम्म ती नेताहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, सार्वजनिक कार्यक्रममा अतिथि नबनाउने र जबरजस्ती गरिए प्रतिरोध गर्दै आएको जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव सञ्जय राईले बताए ।