पथरी । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरेले आयोजना गरेको प्रथम अन्तर विद्यालयस्तरीय टिम चेस च्याम्पियनसिप-२०८१ को दोस्रो दिन तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणको खेलहरु सकिएको छ । स्वीस म्यानेजर अन्तर्गत टिम राउण्ड रोबिन आधारमा सञ्चालित च्याम्पियनसिपमा पथरी शनिश्चरे नगरपालिकाभित्रका निजी तथा सामुदायिक १० विद्यालयहरुको सहभागिता रहेको छ । ९ चरणको खेलहरुमध्ये ६ चरणको खेलमा एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल शतप्रतिशत जीत दर्ता गर्दै अग्रस्थानमा रहेको छ । एभरेष्टले दोस्रो दिन तेस्रो चरणमा मोरङ मेरिगोल्ड अंग्रेजी हाई स्कूललाई २–१ ले, चौथो चरणमा सिंहवाहिनी माध्यमिक विद्यालयलाई ०–३, पाँचौ चरणमा बाल्मीकि मेमोरियल बोर्डिङलाई २–१ र छैटौ चरणमा कीर्तिपुर एकेडेमीलाई ०–३ ले पराजीत गरेको थियो ।
कूल १२ अंकसहित शीर्ष स्थानमा रहेको एभरेष्टलाई ६ खेलमा ५ जीत र १ हार नतिजा निकालेको बाल जागरण विद्या मन्दिरले पछ्याइरहेको छ । बाल जागरणले तेस्रो चरणमा दुर्गा माध्यमिक विद्यालयलाई ३–० ले पराजीत गरेको थियो भने चौथो चरणमा मोरङ मेरिगोल्डसँग ३–० ले नै पराजीत भएको थियो । बाल जागरणले पाँचौ चरणमा सिंहवाहिनीलाई २–१ र छैटौँ चरणमा बाल्मीलाई १–२ ले पराजीत गरेको थियो ।
त्यसैगरी ६ खेलमा ४ जीत २ हारको नतिजा निकालेको मोरङ मेरिगोल्ड र बाल्मीकि क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
तीन टिम रेलिगेशनमा पर्ने च्याम्पियनसिपको टेबलको पुछारमा दुर्गा माध्यमिक विद्यालय, बालकल्याण माध्यमिक विद्यालय र सिंहवाहिनी माध्यमिक विद्यालय रहेका छन् ।