पथरी । पथरी जेसीजले खोजमूलक पुस्तक लेखेका दिपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानित गरेको छ। लेखक तिम्सिनाले मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नम्बर २ एक चिनारी, जेसिज दस्तावेज विगतदेखि वर्तमानसम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरीशनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो, माईखोलादेखि पुनर्वास सम्म, इतिहासमा गुमनाम विषे नगर्ची, जस्ता पुस्तक प्रकाशन गर्नुभएको छ।
शनिवार १४ औँ वार्षिकोत्सव तथा जेसीज सप्ताहको समापनको अवसरमा आयोजित गजल महफिल कार्यक्रममा लेखक तिम्सिना सम्मानत भएका हुन् । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद् गीता तिम्सिनाले जेसीज आस्थामा भने झैँ शासन व्यक्तिको नभई विधिको हुनुपर्ने कुरामा आफू अडिग रहेको बताएकी छिन्। पथरी जेसीजले सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नम्बर ६ गेलावारीमा बस्दै आएका अति विपन्न ऋषिदेव परिवारका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका लागि ७ वर्षे योजना अगाडि सारेकोमा खुसी व्यक्त गरिन् ।
झापा, मोरङ, सुनसरी र धनकुटाका ७ जना गजलकारहरूले सुमधुर तथा कर्णप्रिय गजलहरू वाचन गरेका छन् । पथरी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा सीआई सेनेटर राजकुमार विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा दर्शक तथा श्रोताहरूलाई सुनसरीका राजन भट्टराई, मोरङ उर्लाबारीका टिका खड्का राष्ट्रप्रेमी, उर्लाबारीकै मुना आत्रेय, सुनसरी धरानकी तारा दिप्साली राई, दमक झापाकी कल्पना आचार्य, धनकुटा पाख्रीबासका निश्चल भण्डारी र मोरङ पथरीका ओम प्रकाश शर्मा अभिन्नले आफ्ना सुन्दर गजलहरु वाचन गरेर मन्त्रमुग्ध पारे ।