
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको पुनर्गठनसहित राष्ट्रिय भेला आयोजना हुने भएको छ ।
जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार बसेको बैठकले पार्टी निकट समाजवादी आदिवासी जनजाति महासङ्घ पुनर्गठन कार्यलाई तीव्रता दिँदै राष्ट्रिय भेला गर्न लागिएको हो ।
जसपा नेपाल संगठन विभागको समन्वयमा आदिवासी जनजाति महासङ्घ संयन्त्रको सदस्य पञ्चराम तामाङको अध्यक्षतामा बसेको बैठकले महासङ्घको विभिन्न घटक संगठन गठन र पुनर्गठन गर्ने उद्देश्यसहित राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो ।
समितिको संयोजकमा पञ्चमान तामाङ, सदस्यहरु क्रमशः धर्म घर्तीमगर, राकेश श्रेष्ठ, काजी शेर्पा, भरत चौधरी र कमल तामाङ रहेका छन् । समितिले अर्को बैठक बसेर राष्ट्रिय भेलाको मिति र स्थान तोक्ने बताइएको छ ।
जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मन्त्री शिवलाल थापामगर, उपाध्यक्ष विद्युतकुमार बज्राचार्य, केन्द्रीय सचिवद्वय राजकुमार राई र लाक्पा शेर्पा, केन्द्रीय कार्यकारिणी समिति सदस्य तारा विश्वकर्मालगायत पार्टीका केन्द्रीय सदस्यहरुको सो बैठकमा उपस्थिति रहेको थियो ।
बैठकले केन्द्रीय सचिव राईको संयोजकत्वमा अर्का सचिव एवम् संगठन विभाग उपप्रमुख शेर्पा र संयोजक तामाङ सदस्य रहेको तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।
त्यस्तै बैठकले घटक संगठन निर्माणका लागि क्रमशः समाजवादी किरात राई संघ गठनको जिम्मेवारी राजकुमार राई, समाजवादी सुनुवार संघ गठनको जिम्मेवारी लाक्पा शेर्पालाई, समाजवादी लिम्बू संघ, समाजवादी याक्खा संघ र समाजवादी राजवंशी संघ गठनको जिम्मेवारी कमन देवानलाई दिएको हो ।
त्यसैगरी, समाजवादी तमु संघ गठनको जिम्मेवारी लक्ष्मण गुरुङलाई, समाजवादी दुरा संघ गठनको जिम्मेवारी देवबहादुर दुरालाई र समाजवादी नेवा संघ गठनको जिम्मेवारी राकेश श्रेष्ठलाई दिएको छ ।
जसपा नेपालको फागुन १८, १९ र २० गते सम्पन्न केन्द्रीय समिति बैठकले आदिवासी जनजाति, दलितलगायत उत्पीडित समुदायका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न विभिन्न घटक र महासंघहरु सम्मिलित परिसंघ गठन गर्ने निर्णय गरेको छ ।