पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा नाजारिन एफ.सी. विजयी भएको छ ।
आज पथरी रंगशालामा भएको पहिलो खेलमा नाजारिनले न्यू स्टार एफ.सी.लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच नाजिरिन एफ.सी.का गोलकिपर एवं टिम क्याप्टेन बादल लिम्बु घोषित भए । उनलेे २ प्राप्त गरे । भोलिको फुटबल खेल विशाल वाई एफ.सी. र सुनौलो कल्याण एफ.सी.बीच हुनेछ ।
भोलिदेखि क्रिकेट
खेलकुद महोत्सव अन्तर्गत भोलि क्रिकेट प्रतियोगिता सुरु हुनेछ । जसअन्तर्गत टिम बक्राहा विरुद्ध टिम सेल्फी बीच विहान ९ बजे र टिम झुल्के विरुद्ध टिम डाँस मोरङ्गी बिच दिउँसो १ बजे खेल हुनेछ ।
कुन-कुन खेल समाबेश छ?
महोत्सवमा फुटबल (पुरुष/महिला), भलिबल (पुरुष), क्रिकेट (पुरुष), बुद्धिचाल (चेस), कराँते, म्याराथुन (महिला/ पुरुष), भारोत्तोलन (महिला/पुरुष) र पौडी (महिला/पुरुष) गरी आठ वटा खेलमा प्रतिष्पर्धा गराइने आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए ।
पुरस्कार राशी कति ?
नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति कार्यक्रम अन्तर्गत हुने खेलकुद महोत्सवमा १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको सचिव खुलालले बताए । पुरुष फुटबलतर्फ विजेताले १ लाख, उपविजेताले ५० हजार, महिला फुटबल विजेताले १५ हजार, उपविजेताले ७ हजार, भलिबल विजेताले ३१ हजार, उपविजेताले २१ हजार पाउनेछ । क्रिकेट विजेताले ३५ हजार, उपविजेताले २० हजार, कराँते (पुरुष/महिला) विजेताले ५/५ हजार, मिनि म्याराथन प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, सान्त्वनाले २ हजार प्राप्त गर्नेछ। बुद्धिचालतर्फ प्रथमले १० हजार, द्वितीयले ६ हजार, तृतीयले ४५ सय, चौथोले ३५ सय, पाँचौले २५ सय तथा पौडी प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तृतीयले २ हजार प्राप्त गर्नेछन् । विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र अन्य विधागत पुरस्कार प्रदान गर्नेछ ।
कुन खेल कहाँ हुदैछ ?
फुटबल खेल प्रस्तावित जातेमोडस्थित रंगशालामा हुदैछ । जातेमोडमै भलिबल प्रतियोगिता पनि हुनेछ । क्रीकेट भने जिरीखिम्तीमा हुने आयोजकले जानकारी गराएको छ। कराते बालकल्याण माबि कीर्तिपुरमा र पौडी र बुद्धिचाल प्रतियोगिता सिन पार्टी प्यालेसमा हुने बताइएको छ ।
नगर प्रमुख तुम्बापोद्वारा उद्घाटन
पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले शनिबार खेलकुद महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडाध्यक्षहरु भीम राई, नैना राई, बिजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, नविन कार्की, शिक्षा शाखा प्रमुख एवं नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलाल, कार्यपालिका सदस्यहरु, सामाजिक व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको महोत्सव बैशाख ३० गतेसम्म जारी रहनेछ ।


83 पटक हेरिएको 









