दोस्रो नगर खेलकुद महोत्सव: कुन खेलमा को को विजेता बने?

पथरी । नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको दोस्रो नगर खेलकुद महोत्सव आज सकिदैछ ।

बैशाख २० गते पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोद्वारा जातेमोड स्थित प्रस्तावित रंगशालामा उदघाटित  महोत्सव बैशाख ३० गते समापन हुदैछ ।

कुन-कुन खेलमा को विजेता ?
महोत्सवको सबैभन्दा बढी दर्शकको साथ पाएको खेल हो, पुरुषतर्फको फुटबल प्रतियोगिता । प्रभात एसएससी र देबीगन्ज एफसीबिचको फाइनल खेल आज हुदैछ । फाइनलको नतिजा पश्चात् विजेता र उपविजेता थाहा हुनेछ।

महिलातर्फको फुटबल प्रतियोगिताको उपाधि पथरी ११ एफ.सी.ले जितेको छ । हिजो भएको महिला फुटबल प्रतियोगितामा न्यू स्टार एफ.सी. कीर्तिपुरलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधि माथि पथरी ११ एफ.सी. हाबी भएको हो । खेलको पहिलो हाफको २० मिनेटमा पथरी एफ.सी.का मनिशा लम्जेलले सुन्दर गोल गरिन् । सोही गोल नै पथरी ११ का लागि जितको पर्याप्त बन्यो । खेलमा म्यान अफ दि म्याच पथरी ११ की केरेन लिम्बु घोषित भइन् ।

भारोत्तोलन प्रतियोगिता पनि हिजो सम्पन्न भएको छ । प्रतियोगितामा ५० केजी तौल समूहमा सन्देश राई प्रथम, विक्रम माझी दोस्रो र कृष्ण श्रेष्ठ तेस्रो भए । ६० केजी तौल समूहमा जीवन राई प्रथम, विशाल दियाली दोस्रो, प्रशान्त प्रधान तेस्रो भए । यस्तैगरी ७० केजी तौल समूहमा जितन राई प्रथम, लोकबहादुर तामाङ दोस्रो, आशिष लिङ्थे तेस्रो भए भने ८० केजी तौल समूहमा विशाल वर्देवा प्रथम, कृष्ण थापा दोस्रो र अशोक राई तेस्रो भए ।
‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ जारी महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता पनि हिजै सम्पन्न भएको छ । म्याराथनको उपाधि भिषन राईले जितेका छन् । पुरुषतर्फ राई र महिलातर्फ अंकिता राईले उपाधि चुमिन् । भिषनले १० किलोमिटर दुरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । महिलातर्फकी धाविक अंकिता राईले १० किलोमिटर ३८ मिनेट १६ सेकेन्डमा पार गरेर उपाधि चुमिन् । पुरुषतर्फ सोनुप राई द्वितीय, आशिष मण्डल त्रितीय र प्रशान्त पौडेल सान्तवना भए । राईले २७ मिनेट २० सेकेन्ड, मण्डलले २७ मिनेट ३७ सेकेन्ड र पौडेलले २७ मिनेट ५६ मिनेटमा दुरी पार गरे ।
यसैगरी महिलातर्फ स्मारिका गौतम दोस्रो, सुविस्म लिम्बु तेस्रो, मनिका माझी सान्तवना भए । गौतमले ४१ मिनेट २८ सेकेन्ड, लिम्बुले ४२ मिनेट ३ सेकेन्ड र माझीले ४२ मिनेट ५० सेकेन्डमा दूरी पार गरे । पथरी शनिश्चरे वडा नं.८ को मंगलबारे बजारबाट किर्तिपर हुँदै सुन्दरीचौक सम्म गराइएको दौड प्रतियोगितामा सबै सानो उमेर १२ का चोलुङ सेर्माले पनि दौड पूरा गरेका थिए ।

वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि वडा नं. २ ले जितेको छ । वडा नं. १ को भलिबल टिमलाई वडा नं. २ को भलिबल टिमले सोझो तीन वटै सेटमा पराजित गर्दै नगर च्याम्पियन बनेको हो ।

क्रिकेटको उपाधि टिम भुल्केले उचालेको छ । टिम भुल्केले टिम सेल्फीलाई ७१ रनले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको टिम भुल्केले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो। फाइनल खेलमा दिपेश भण्डारी ’म्यान अफ द म्याच’ घोषित भए ।

महोत्सवमा आठ वटा खेलमा प्रतिष्पर्धा गराइएको आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए ।

पुरस्कार राशी कति ?

नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति कार्यक्रम अन्तर्गत हुने खेलकुद महोत्सवमा १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको सचिव खुलालले बताए । पुरुष फुटबलतर्फ विजेताले १ लाख, उपविजेताले ५० हजार, महिला फुटबल विजेताले १५ हजार, उपविजेताले ७ हजार, भलिबल विजेताले ३१ हजार, उपविजेताले २१ हजार पाउनेछ । क्रिकेट विजेताले ३५ हजार, उपविजेताले २० हजार, कराँते (पुरुष/महिला) विजेताले ५/५ हजार, मिनि म्याराथन प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, सान्त्वनाले २ हजार प्राप्त गर्नेछ। बुद्धिचालतर्फ प्रथमले १० हजार, द्वितीयले ६ हजार, तृतीयले ४५ सय, चौथोले ३५ सय, पाँचौले २५ सय तथा पौडी प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तृतीयले २ हजार प्राप्त गर्नेछन् । विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र अन्य विधागत पुरस्कार प्रदान गर्नेछ ।

कुन खेल कहाँ ?

फुटबल खेल, भारोत्तोलन र भलिबल प्रस्तावित जातेमोडस्थित रंगशालामा भयो । कृकेट भने जिरीखिम्तीमा भएको थियो । कराते बालकल्याण माबि कीर्तिपुरमा तथा पौडी र बुद्धिचाल प्रतियोगिता सिन पार्टी प्यालेसमा भए । दौड प्रतियोगिता मङ्गलबारे-कीर्तिपुर-सुन्दरी चोकमा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार