सिम्ले, तेह्रथुममा महानन्द निङ्लेखु सङ्ग्रहालय निर्माण

बैशाख २२, काठमाडौँ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्लेस्थित मयन्तापा टारीमा ‘महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र’को भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।
निङ्लेखु समुदायले पूर्खाको ऐतिहासिक तथा पुरातात्तिवक घुमाउने घर संरक्षण गर्ने उद्देश्यले पुनः मर्मत सम्भार गरी बैशाख १९ गते तेह्रथुम जिल्लाको प्रतिनिधि सांसद सन्तोष निङ्लेखुको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ ।
आगे सुब्बा स्वर्गीय महानन्द निङ्लेखुले (१८९०–१९६३) तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका–१, मयन्तापा टारीमा वि.सं. १९४४ मा निर्माण गर्नुभएको ऐतिहासिक तथा पुरातात्तिवक महत्वको घुमाउने घर जीर्ण अवस्थामा रहेको घरलाई मर्मत गरी संग्रहालय तथा अनुसन्धान केन्द्रको रूपमा रूपान्तरण गरी सञ्चालनमा ल्याएको छ ।
निङ्लेखु वंशका महान व्यक्तित्व महानन्द निङ्लेखुले आफ्नो जीवनकालमा समाज सुधारका निम्ति धेरै महत्वपूर्ण कार्यहरू गरेका थिए । स्थानीय स्तरमा उधौली–उभौली पर्वमा विभिन्न थुमका सुब्बाहरू भेला गराई चाडपर्व मनाउने, अन्नबालीको अवस्था सम्बन्धी छलफल गर्ने परम्परा बसालेका थिए । घरछेउमै पिपली चौतारा निर्माण गरेका सुब्बा महानन्दले तत्कालिन समयमा कालु राई (पयाङगु) र जहरसिंह पयाङगुसँग पिपली चौतारामै भेटघाट तथा महत्वपूर्ण निर्णयहरू गर्ने चलन बसेको थियो ।
यस्तै वि.सं. १९४१ मा स्थानीय उत्पादनको व्यापार सहज बनाउन पोक्लाबाङमा औँसी र पूर्णिमामा लाग्ने हाटको स्थापनाकर्ताको श्रेय उनैलाई जान्छ । वि.सं. १९४५ को रामनवमीमा मेलाको शुरुवात उनैले गरेका थिए । उक्त मेला क्रमशः खरुङ्वा खोला–तमोर दोभानबाट टारी हुँदै याङ्सिलामा सारिएको थियो ।
यसरी नै नामसुवा उकालोमा खानेपानीको समस्या समाधान गर्न माटोको ठूलो घैला राखी पानीको व्यवस्था, स्थानीयलाई सहजता होस् भनी विभिन्न स्थानमा कृषि तथा घरेलु औजार भण्डारण केन्द्र स्थापना, दुर्लभ वस्तु नुन भोट (तिब्बत) बाट ल्याई गरीब तथा असहायलाई निःशुल्क वितरण गर्ने कार्य, वि.सं. १८३१ को गोरखा–लिम्बुवान सन्धिअनुसार फेदाप क्षेत्रमा शासन व्यवस्था, न्याय–निसाफ र जनसुरक्षाको जिम्मेवारी वहन र कानुनी अधिकार व्यवस्थापन गर्ने आदि कार्य सुब्बा महानन्द निङ्लेखुले गरेका थिए ।
निङ्लेखु वंशको उनै महानव्यक्तिको योगदानहरुको सम्मान र सम्झाना स्वरुप हालः फेदाप–१, मयन्तापा टारीमा रहेको घुमाउने घरलाई सङ्ग्रहालयमा रुपान्तरण गरी उद्घाटन गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
सङ्ग्रहालय उद्घाटन कार्यक्रममा नेकपा एमाले तेह्रथुमको सचिब तारामान मादेन, फेदाप गाउपालिका वडा नं १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठ , पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ फेदाप गाउपालिका वडा नं १ का वडा सदस्य योगेन्द्र कुरूम्बाङ, जनज्योती माबी सह प्रधानाध्यापक गंगा बहादुर राईले सङ्ग्रहालयको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रका सदस्य नन्द प्रसाद निङ्लेखुको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।०

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार