पथरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मोरङ जिल्लास्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरुषतर्फ पथरीशनिश्चरेका तिर्थराज सुब्बा च्याम्पियन बनेका छन् भने महिलातर्फ शिशु शिक्षा सदन उर्लाबारीकी नुमा सुब्बाले शतप्रतिशत जितसहित उपाधि जितेकी छन् । पुरुषतर्फ समान ६–६ अङ्क हासिल गरेका तिर्थराज सुब्बा र कसिब कार्की क्रमशः पहिलो र दोस्रो भए । तिर्थ अपराजित रहे; तिर्थले पाँचौँ चरणको प्रतिस्पर्धामा कसिबलाई पराजित गरेको आधारमा तिर्थराज च्याम्पियन बनेका हुन् ।
यसैगरी, ५.५ अङ्क हासिल गरेका पथरीशनिश्चरेका लोकबहादुर साम्बा बुछोल्ज टाइब्रेकरका आधारमा तेस्रो स्थानमा रहँदै प्रदेशस्तरीय छनोटमा स्थान सुरक्षित गर्न सफल भए । उनले राधिका माध्यमिक विद्यालय, उर्लाबारीका नोमिन दुलाल र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका मोरङ च्याम्पियन प्रेम लिम्बूलाई पछि पारेका हुन् । पुरुषतर्फ तिर्थराज, कसिब र लोकबहादुरले प्रदेशस्तरीय छनोटमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।
महिलातर्फ नुमा सुब्बाले पाँचै चरणका खेल जित्दै ५ अङ्कसहित च्याम्पियन बन्न सफल भइन् । चौथो चरणमा नुमासँग पराजित बेलबारीकी शान्ति धिमालले बाँकी चार खेलमा जित हासिल गर्दै दोस्रो स्थान प्राप्त गरिन् ।
समान ३ अङ्क हासिल गरेका पञ्चायत माध्यमिक विद्यालय, पथरीकी रेबिका लिम्बू र कीर्तिपुर एकेडेमी, पथरीकी समिरा राईबीचको प्रतिस्पर्धामा टाइब्रेकरका आधारमा समिरा अगाडि रहिन् । उनी तेस्रो स्थान हासिल गर्दै प्रदेशस्तरीय छनोटमा पुग्न सफल भइन् । महिलातर्फ नुमा, शान्ती र समिराले प्रदेशस्तरीय छनोटमा मोरङको प्रतिनिधित्व गर्नेछन् ।
मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा हिमालयन चेस एकेडेमी, कोशी प्रदेश बुद्धिचाल संघ तथा पञ्चायत माध्यमिक विद्यालयको प्राविधिक सहयोग र पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।


1 पटक हेरिएको 












