नगरपालिकाद्वारा बजार अनुगमन

पथरी । नेपाल सरकारको  सुशासनका लागि सञ्चालन गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाद्वारा निरन्तर बजार अनुगमन भइरहेको छ ।
आज पथरी बजारका डेरी पार्लर, सब्जी मन्डी, भाडा पसल, किराना पसल, फ्रेस हाउस, आयुर्वेद मेडिकल हल तथा स्पा सेन्टर लगायतका व्यवसायहरूको अनुगमन गरिएको हो । अनुगमनपछि व्यवसायीहरूलाई पसल दर्ता, दर्ता नविकरण तथा म्याद गुज्रिएका (डेट एक्सपायर भएका) सामग्री बिक्री वितरण नगर्न सुझाव दिइएको छ । साथै, औषधि पसलहरूको दर्ता तथा नविकरण गर्न छुटेकाहरूलाई तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण गर्न तथा सबै पसलहरूमा अनिवार्य रूपमा मूल्य सूची राख्न अनुरोध गरिएको छ ।
अनुगमनका क्रममा पथरी बजारका अधिकांश डेरी पार्लरहरूले ‘मिल्क एनालाइजर’ प्रयोग नगरी दूध बिक्री वितरण गर्ने गरेको पाइएपछि अनुगमन टोलीले ‘मिल्क एनालाइजर’द्वारा परीक्षण गरेर मात्र दूध बिक्री गर्न निर्देशन दिएको छ । यसको कार्यान्वयन भए नभएको पुनः अनुगमन गरी आवश्यक परे कडा कारवाही गरिने समेत बताइएको छ । यसैगरी, केही फ्रेस हाउसहरूमा कामै नलाग्ने फ्रिज मेसिन प्रयोग भइरहेको पाइएकाले तत्काल सरसफाइ गरी गुणस्तरीय फ्रिज प्रयोग गर्न सुझाव दिइएको छ । अनुगमनमा अनुगमन समितिको संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्ले, अनुगमन समितिको सदस्यद्वय वीरबहादुर राई र अन्जना शिवा, अनुगमन निरीक्षक एकराज खत्री, पशु चिकित्सक डा. आशिष देव, राजश्व शाखा प्रमुख तारा प्रसाद ढकाल, इलाका प्रहरी कार्यालयका प्रहरी तथा नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार