वस्तुको बिक्री वितरणबारे अभिमुखीकरण कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्न उत्पादन गरिएको वस्तुहरुको बारेमा छलफल र अन्तरक्रिया भएको थियो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका स्वास्थ शाखाका जनस्वास्थ्य अधिकृत/अनुगमन निरीक्षक एकराज खत्रीले स्तनपानको महत्व, स्तनपान सम्वन्धी सिफारिस गरिएका व्यवहारहरु, नेपाल र विश्वव्यापी रूपमा स्तनपानको अवस्था आदि विषयमा प्रस्तुति राखे  । यसैगरी राजश्व अधिकृत ताराप्रसाद ढकालले नगरमा रहेका स्वास्थ व्यवसायहरु दर्ता, नविकरण प्रक्रिया, दर्ता गर्दाका फाईदाहरु, नगर्दाका बेफाईदाहरु, करको दर रेट, नगरको आर्थिक ऐन र अन्य कानुनी कुराहरुका बारेमा प्रस्तुति राखेका थिए । यसैगरी ईलाका प्रहरी कार्यालय पथरीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले लागुपदार्थ दुव्र्यवसन, यसका असरहरु, कानुनी प्रावधान, दण्ड, सजायँ आदि विषयमा जानकारी गराउँदै समुन्नत समाज निर्माण गर्न प्रहरी–समुदाय बिच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
नगर प्रमुख मोहन प्रसाद तुम्बापोले नगर र नगरवासीलाई सुरक्षीत र समुन्नत बनाउन आफू सदैव तत्पर रहेको उल्लेख गर्दै स्वस्थ बालबालिका र तिनीहरुको भविष्य सुरक्षित बनाउन स्वस्थवर्धक खानेकुराहरु खुवाउने बानिको विकास गर्न र स्वास्थलाई लाभ नपुर्‍याउने खानेकुराहरुको बिक्री वितरणलाई निरुत्साहित गर्नुपर्ने जोड दिए । कार्यक्रममा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, स्वास्थकर्मीहरु, औषधि पसल तथा निजी अस्पताल सञ्चालकहरु, खाद्य सामग्री बिक्री वितरण गर्ने पसलहरू, नगरको बजार अनुगमन समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरु सहित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार