पथरी(मोरङ) । पथरीशनिश्चरे नगरपालिका–५ स्थित सुन्दरीचोकमा रहेको जनता आधारभूत विद्यालयको पूर्वतर्फ बग्ने बक्राहा खोलाबाट कटान हुने जोखिम बढ्दै गएपछि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायको टोलीले स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीमा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी बिरदत्त पन्त, सशस्त्र प्रहरी बल बेस क्याम्प शनिश्चरे, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, प्राविधिक युवराज तिम्सिना तथा विपद् फोकल पर्सन सुरेन्द्रकुमार राई सहभागी थिए । स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा बक्राहा खोलाको कटानले विद्यालय क्षेत्र तथा आसपासको बस्तीमा जोखिम निम्त्याउन सक्ने अवस्थाको मूल्याङ्कन गरिएको थियो । टोलीले जोखिम न्यूनीकरणका लागि आवश्यक तटबन्ध निर्माण, नदी नियन्त्रण तथा अन्य दीर्घकालीन संरक्षणका उपाय अविलम्ब अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।


15 पटक हेरिएको 







