धरान(सुनसरी) । बि.स.२०७४ मा निर्माण भएको विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति पुनर्गठन भएको छ । तत्कालीन सह-सहसंयाजक एवम् पूर्व संयाेजक सुवासचन्द्र हुक्पा चाेङवाङकाे अध्यक्षतामा समिति पुनर्गठन भएको छ । चाेङवाङ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) धरान र कियाचु धरानका पूर्व अध्यक्ष समेत हुन् । उनी कियाचु सुनसरी सहसचिव पदमा समेत रहेका छन् । समितिकाे उपाध्यक्षहरूमा विष्णु थाम्देन (नेपाल जनमुक्ति पार्टी), राजकुमार वनेम ‘प्रिन्स’ (सङ्घीय लिम्बुवान मञ्च) र तिर्थ मादेम्बा (कियाचु धरान) छन् । सचिवमा सन्ताेष कुरुम्वाङ (पूर्व सचिव), सहसचिव एवम् प्रवक्तामा अमित थेबे (उज्यालो नेपाल पार्टी), सहसचिवहरूमा हितराम तिल्लिङ (छथरे समाज) र समृत खेवा मादेन (आदिवासी जनजाति युवा महासङ्घ) छन् । काेषाध्यक्षमा पवित्रा हुक्पा चाेङवाङ (कियाचु धरान) छिन् ।
त्यस्तै, सदस्यहरूमा आरती नेम्वाङ (लिम्बु विद्यार्थी मञ्च), जयप्रकाश तिगेला (काङ्साेरे फाेर्स), मदन सम्बाहाङफे (लिम्बु साँस्कृतिक परिषद सुनसरी), सुमन चेम्जोङ (जसपा नेपाल), कृष्ण फाेम्वाे (याक्थुङ चुम्लुङ नेपाल), प्रवेग हाङ्स्राेङ (फेदाप समाज), लैन बहादुर लाओती (पापाेहाङ लाओती सयङ) छन् । अन्य सदस्यहरूमा चाैबिसे समाज, युमा साम्याे महासभा नेपालबाट रहेका छन् ।
सल्लाहकारहरूमा पूर्व संयाेजक थाङसाङ लाओती (संलिम), उपप्राध्यापक हर्क इजम (मुन्धुम अध्ययन केन्द्र), राम आङबुहाङ (याक्थुङ लिम्बु भाषिक साँस्कृतिक नागरिक अभियान), देव सुब्बा इजम (युमा साम्याे महासभा नेपाल), माेहन हुक्पा चाेङवाङ (कियाचु नेपाल) र जेन्टल लाओती (पापाेहाङ लाओती सयङ) छन् । समितिले आवश्यकताअनुसार थप थरगत थुमगत, सामाजिक र राजनीतिक सङ्गठनहरू घटक सदस्यका रूपमा जाेड्दै जाने अध्यक्ष सुवासचन्द्र हुक्पा चाेङवाङले बताए । उनले विजयपुर दरबार परिसरकाे संरक्षणकाे सवालमा कुनै पक्षसँग समेत सम्झाैता नगर्ने बताए । ०७४ मा विजयपुर दरबार परिसरमा एसियाली विकास बैंक (एडीबी)काे सहुलियत ऋण तथा अनुदान कार्यक्रमअन्तर्गत एकीकृत सहरी विकास परियोजना (आईयुडीपी)ले खानेपानी ट्याङ्की निर्माण गर्ने प्रयास गर्दा आन्दोलन भई सुरक्षाकर्मीसँग झडप भएको थियोे । जसका कारण परियोजना स्थगन हुन बाध्य भएको थियोे । आन्दोलनमा कैयन् अभियन्ताहरू घाइते भएका थिए ।
आइतबार चुम्लुङ हिममा भएको भेलाले ‘विजयपुर दरबार परिसर संरक्षण र बृहत विकास परियोजना’ विषयमा श्वेतपत्र जारी गरेको छ । श्वेतपत्र (white paper) मार्फत साँस्कृतिक अतिक्रमणविरुद्ध साझा धारणा सार्वजनिक गरिएको छ । ऐतिहासिक, पुरातात्त्विक र साँस्कृतिक महत्त्व बाेकेकाे र लिम्बुवानकाे प्राचीन राजधानी समेच भएको विजयपुरमा भएका अनधिकृत संरचना निर्माणहरू तत्कालै सम्बन्धित पक्षले हटाउनुपर्ने माग गरिएको छ । श्वेतपत्रमा संशाेधित १० बुँदा राखिएको छ । श्वेतपत्रमा तीन दर्जन बढी याक्थुङजन्य सङ्घ संस्था, सङ्गठन, राजनीतिक दलका अगुवा याक्थुङ लिम्बु नेतृत्वहरूले हस्ताक्षर गरेका छन् ।
पुनर्गठन कार्यक्रम निवर्तमान संयाेजक थाङसाङ लाओेतीकाे संयाेजकत्व र सचिव सन्ताेष कुरुम्वाङकाे सञ्चालन भएको थियोे । कार्यक्रममा अमित थेवेले श्वेतपत्र प्रस्तुत गरेका थिए ।
विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले साउन १ गते सिसेक्पा तङ्नामकाे अवसरमा विजयपुर (लिम्बुवान) दरबार परिसरमा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
समितिले विजयपुर दरबार परिसरकाे मूल क्षेत्रमा साँस्कृतिक अतिक्रमण निम्तने संरचनाहरू तत्कालै हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने भएको छ । त्यस्तै, सम्मानित सर्वाेच्च अदालतकाे निर्णयहरूकाे अक्षरश: पालना गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । त्यस्तै, विजयपुर दरबार परिसरमा निर्माण भएको साँस्कृतिक संरचना नहटेसम्म परिसरकै क्षेत्र मानिने सुलिकाेटमुनिकाे चिल्लाे डाँडा/चिन्डे डाँडामा भइरहेको परियोजनालाई समेत स्थगन गर्न आग्रह गरेको छ ।


11 पटक हेरिएको 







