नवौँ बेलबारी मेजर स्वर्गीय एन.बी. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

बेलबारी । मोरङको बेलबारीमा आयोजना हुन लागेको नवौँ बेलबारी मेजर स्वर्गीय एन.बी. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप-२०८३ पुस ४ गते देखि हुने भएकाे छ ।
शनिवार बेलबारी-११ लक्ष्मीमार्ग खेलमैदानमा आयाेजित पत्रकार सम्मेलनमा आयाेजकले साे बारे जानकारी दिएकाे छ ।
आयोजक डाँगीहाट युथ क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको कार्यदिशा, सहभागी टिम, पुरस्कार राशि, आम्दानी तथा खर्चको अनुमानित विवरण सार्वजनिक गरेको छ।
आयोजकका अनुसार प्रतियोगिता आगामी २०८३ साल पुस ४ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका लागि कुल ७६ लाख २ हजार रुपैयाँ अनुमानित आम्दानी हुने प्रक्षेपण गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ७२ लाख ७५ हजार रुपैयाँ खर्च हुने र करिब ३ लाख २७ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले ८ लाख रुपैयाँ र दोस्रो हुने टिमले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर लगायत विधामा समेत खेलाडीलाई पुरस्कृत गरिनेछ । गोल्डकपमा आयोजक डाँगीहाट युथ क्लब बेलबारी–११ सहित भारतको मिक्स्ड क्लब खर्साङ, सहलेस युवा क्लब सिरहा, नेपाल पुलिस क्लब काठमाडौं, भोजपुर जिल्ला फुटबल संघ, श्री स्टार क्लब काठमाडौं, प्लानिङ ब्वाइज क्लब काठमाडौं र रेड स्टार क्लब बिर्तामोड झापासहित आठ टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको मुख्य सहयोगी बेलबारी नगरपालिका र मुख्य प्रायोजक एक्स्ट्रिम रहेका छन्। दोस्रो पुरस्कार प्रायोजकका रूपमा गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ। त्यसैगरी एनी, इन्डो ग्लोबल फाउन्डेसन, लाहुरे ट्रेनिङ सेन्टर, नोबेल मेडिकल कलेज, जाेया प्रा.लि., द रिभर ओभरसिस, मल्टिमिसन ट्रेनिङ सेन्टरलगायत संस्थाहरू सहप्रायोजक तथा सहयोगीका रूपमा रहने आयाेजक डागिहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवाले जानकारी दिए ।
प्रतियोगिताको उद्देश्य खेलाडी तथा दर्शकलाई मनोरञ्जन प्रदान गर्नु, ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिनु, युवालाई फुटबलप्रति आकर्षित गर्दै नयाँ खेलाडी उत्पादन गर्नु, उत्कृष्ट खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउनु र स्थानीय खेलाडीलाई विदेशी खेलाडीसँग खेल्ने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
यसपटकको गोल्डकपका थप आकर्षणमा देश–विदेशका ख्यातिप्राप्त क्लबहरूको सहभागिता, उद्घाटन समारोहमा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति, डेढ तोला सुन र ३ केजी चाँदी जडित आकर्षक रनिङ ट्रफी तथा स्थानीय विभिन्न जातजातिको भेषभूषा, भाषा र संस्कृतिको झाँकी प्रदर्शनी रहनेछन्। आयोजकले गोल्डकपलाई केवल फुटबल प्रतियोगितामा सीमित नराखी बेलबारीको खेलकुद पहिचान, पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृति संरक्षण र सामाजिक एकताको महत्वपूर्ण उत्सवका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार