बेलबारी(मोरङ) । बेलबारी प्रज्ञा–प्रतिष्ठानले बदलिँदो जलवायु र साहित्य विषयक अन्तरक्रिया बिहिवार सम्पन्न गरेको छ।
सुदर्शन रिसाेर्टमा भएकाे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईकाे प्रमुख आतिथ्य रहेकाे थियाे । त्यस्तै कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्र कोइराला, बौद्धिक व्यक्तित्व तथा सुकुना बहुमुखी क्याम्पसका सहायक प्रमुख गणेशप्रसाद दाहाल, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजिव गिरी, सबडिभिजन वन कार्यालय, बेलबारीका प्रमुख सत्यनारायण झा, साहित्यकार इरान राईकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
नगर प्रमुख राईले बदलिँदो जलवायु परिवर्तनको कारक तत्व हामी मानिस नै भएकाले दैवी प्रकोप भनेर दोष नलगाई वैज्ञानिक ढङ्गले हेरी त्यही अनुसारको समाधान खोज्न सुझाए । विशिष्ट अतिथि अर्जुनराज अधिकारीले साहित्य मार्फत जनचेतना फैलाउँदा प्रभावकारी हुने बताए । विशिष्ट अतिथिद्वय भूपेन्द्र कोइरालाले विभिन्न योजनाहरू अघि सारे भने गणेशप्रसाद दाहालले समयानुकूल संस्कार, संस्कृतिलाई पुनर्जागरण गरी बदलिँदो जलवायु परिवर्तनलाई वैज्ञानिक तरिकाले संरक्षण गर्न र लेखकहरू लेखनीमा लाग्न सुझाव दिए । वन र वन्यजन्तुहरू पनि संकटमा परेकाले उनीहरूको संरक्षणको लागि मानव जाति नै लाग्नुपर्ने विशिष्ट अतिथि झाले बताए।
सागर ढकालले पनि वैज्ञानिक तथ्यका आधारमा समाधान खोज्नुपर्ने कुरा व्यक्त गरे । कार्यक्रममा साहित्यकार धनजित पराजुली जेबी थुलुङ, संजीव धिमाल, हिरा खड्का अधिकारी, रमेश निरौला, गणेश बिक, प्रकाश भट्टराई, केसु बिरही, शेरबहादुर खपाङ्गी, बादलदेवी चाम्लिङ, डा. दीपक न्यौपाने, जुनु बुढाथोकी, नवराज नवशिला आदिको उपस्थिति रहेको थियो । समाजसेवी फडिन्द्र निरौला, पार्वती बराल, चन्द्र चेम्जोङ, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, अर्जुन कुलुङ राई, ऋषिराज राई, खेम अधिकारी आदिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मनकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए भने प्रतिष्ठानका पदाधिकारीहरू अजित धिमाल, प्रेम गुरुङ, राजु परियार, शेखर थापा मगर, धनजित पराजुली, लक्ष्मी रेग्मी सुवेदी आदिले अतिथिहरूलाई स्वागत सम्मान गरेका थिए । अध्यक्ष रेखा सुवेदीले मानवले आफ्नो स्वार्थ मात्र नहेरी समग्र प्राणीको, वनस्पति जगतको, पृथ्वी र ब्रह्माण्डको हित र संरक्षणको लागि कदम उठाउनुपर्ने साथै स्रष्टाहरूले रचनामा पर्यावरणलाई महत्त्व दिनुपर्ने कुरामा जोड दिइन्।
बेलबारी तथा सुन्दरहरैँचा नगरपालिकाका स्रष्टाहरू, सामुदायिक वनका अध्यक्षहरू तथा समाजसेवीहरू गरी दुई दर्जन बढीको उपस्थिति रहेको थियाे ।


30 पटक हेरिएको 












