भारतको सिक्किममा हुने तीन खेलको यु -१९ सिरिजमा कीर्तिपुर एकेडेमीका चार खेलाडी सहभागी

कीर्तिपुर (पथरी)। भारतको सिक्किममा आयोजना हुने तीन खेलको यु-१९ क्रिकेट सिरिजमा कीर्तिपुर एकेडेमी पथरी शनिश्चरेबाट चार महिला खेलाडी सहभागी हुने भएका छन्।सिरिजको पहिलो खेल मंसिर १२ गते हुनेछ।
एनिस्का थापा, समीक्षा राई, सुभेच्छा लिम्बु र स्मारिका गौतम मंसिर ११ गते भारत प्रस्थान गरेका हुन्। थापा, राई र लिम्बु एकेडेमीमा अध्ययनरत छात्राहरु हुन् । उनीहरू मध्ये थापा कक्षा ७  तथा राई र लिम्बु कक्षा ९ मा अध्ययन गरिरहेका छन् भने गौतम  कीर्तिपुर एकेडेमीमै प्रशिक्षण गर्दै आइरहेकी छिन् । उनीहरूले यसअघि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै खेल अनुभव हासिल गरिसकेका छन्। भारतमा हुने सिरिज उनीहरूका लागि आफ्नो क्षमता परीक्षण गर्ने, प्रतिस्पर्धात्मक अनुभव बढाउने र खेलस्तर सुधार गर्ने अवसरका रूपमा रहनेछ।
कीर्तिपुर एकेडेमीका प्रिन्सिपल पुकार राईले खेलाडीहरूलाई नियमित प्रशिक्षण र प्रतिस्पर्धाको अवसर उपलब्ध गराउँदै उनीहरूको प्रतिभा विकासमा विद्यालयले निरन्तर काम गरिरहेको बताए। स्थानीय स्तरमा क्रिकेटको विकास र विशेषगरी महिला खेलाडीलाई प्रोत्साहन गर्ने प्रयासका बीच चार खेलाडीको भारत सहभागितालाई पथरी शनिश्चरेको खेलकुद क्षेत्रको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार