पथरी । वडा नं. ४ को कार्यालय पथरी शनिश्चरे नगरपालिकाले अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सार्वजानिक गरेको छ ।
वडा कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा वडाले फजुल खर्च कटौती गर्दै कार्यालयलाई मितव्ययी, चुस्त सरल सेवा, पारदर्शिता र आपसी एकतामा जोड दिएको जानकारी गराइको छ । ‘छ महिनाअघि हामी वडा कार्यालय पस्दा विद्युत, होटल लगायतको बिल सँगसँगै आएको थियो ।’ अध्यक्ष लोकनाथ न्यौपानेले थप्नुभयो-‘त्यसपछि फजुल खर्च घटाउनु पर्छ भनेर कार्यालयमा मिनरल वाटर र चिया बन्द गरियो ।’ कार्यालयमा मिनरल वाटर र चिया संस्कृतिको अन्त्य गरेपछि वार्षिक ५० हजार जति आर्थिक बोज कम भएको अध्यक्ष न्यौपानेको भनाइ छ । वडामा जस्तोसुकै भिड भए पनि सेवाग्राहीलाई बढीमा १ भन्दा बढी ढिला नगरी काम गरिदिने नीति बनाएर कार्यान्वयमा ल्याइएको बताउँदै अध्यक्ष लोकनाथ न्यौपानेले विकास निर्माण लगायतको काममा पारदर्शी, कर्मचारी र जनप्रतिनिधि बीच आपसी एकताको वातावरण निर्माण गर्ने बताए ।
कार्यक्रममा शैक्षिक सुधारको प्रयास स्वरुप वडामा रहेका चार वटै विद्यालयका प्रधानाध्यापकहरुलाई डिजिटल हस्ताक्षर फेस स्क्यानर मेसिन प्रदान गरिएको थियो । विद्यालयमा शिक्षक, कर्मचारीहरु समयमा आए गएको अनुगमन फेस स्क्यानर मेसिन मार्फत वडा कार्यालयबाटै हुने वडा अध्यक्ष न्यौपाले बताए ।
कार्यक्रममा नगरबाट सिलिङ बजेट मार्फत प्राप्त ७३ लाख मध्ये ५० प्रतिशत कार्यान्वयन भइसकेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । बिकास निर्माणको बाँकी रहेको ३० प्रतिशत सम्झौता भएको र २० प्रतिशत मात्र सम्झौताहुन बाँकी रहेको उल्लेख छ । प्रदेश सरकारबाट बिनियोजित बजेटको पनि काम भइरहेको उल्लेख छ । नयाँ समिति आएपछि वडामा ३४ वटा सडक बत्ती जडान, सय जनालाई निःशुल्क स्वास्थ्य वीमा, ८ सय किसानलाई मकैको बिउ, ८ सयलाई घाँसको विऊ, बाली विज्ञान अध्ययनरत दुई जनालाई छात्रवृत्ती वितरण गरिएको उल्लेख छ । कार्यक्रममा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक लगायतले अनुभव सुनाएका थिए भने नगरका शिक्षा विभागका अधिकृत नवीन खुलाल, भागिरथ माध्यमिक विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङ, सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपाने लगायतले शुभकामनासहित शैक्षिक गुणस्तर सुधार बारेमा सम्बोधन गरेका थिए ।


116 पटक हेरिएको 












