पथरी । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को चुनाबलाई लक्षित गरेर समाजवादी विद्यार्थी युनियनले घोषणापत्र शनिबार सार्वजनिक गरेको छ।
चैत्र ५ गते हुन लागेको निर्वाचन लक्षित गर्दै मुलुकको वास्तविक धरातलमा उभिएर आजसम्मको क्रान्तिले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न समाजवादी विद्यार्थी युनियनले संघीय समाजवादी शिक्षा प्रणालीलाई आम जनता र मुलुकको सर्वोपरी हित र समृद्धिको लागि हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ। संगठनले उठाएको शिक्षा प्रणालीको मूलभुत विशेषताहरूमा त्रैभाषिक शिक्षा, आदर्शवादी समाज र मौलिक विज्ञान र प्रविधिको विकास, संघीय समाजवादी संस्कृतिको विकास, संघीय समाजवादी मनोविज्ञान, संघीय समाजवादी विश्व दृष्टिकोण, प्राकृतिक श्रोत साधनको व्यवस्थित विकास, भूबनोट अनुसारको व्यवस्थित जल जमीन, जंगलमाथिको स्थानीय स्वामित्व, सामुदायिक शिक्षा प्रणाली रहेको बताइएको छ।
समाजवादी विद्यार्थी युनियनले पूणर् समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने विषयलाई घोषणा पत्रमा उठाएको छ। ’वर्षौदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपांग भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउनु नै समानुपातिक समावेशी हो, घोषणापत्रमा भनिएको छ।
विद्यार्थी, शैक्षिक प्रणाली, विश्वविद्यालयको वेथिति, भ्रष्टाचार लगायतका विषयहरू समेटिएको २६ बुँदाहरू आफ्ना प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै संगठनले सम्पूणर् मतदाता विद्यार्थीहरूसँग समाजवादी विद्यार्थी युनियनलाई मतदान गर्न अपिल गरेको युनियनका केन्द्रीय उपाध्यक्ष तथा घोषण पत्र मस्यौदा समितिको संयोजक संजय राई जनाए । युनियन जनता समाजवादी पार्टी, नेपाल(जसपा) सम्बद्ध विद्यार्थी संगठन हो ।


154 पटक हेरिएको 












