कोशी प्रदेशको विरोधमा फिदिममा पनि प्रदर्शन

फिदिम(पाँचथर) । कोशी प्रदेशको नामाकरणको विरोधमा पाँचथर जिल्लामा पनि आइतबार प्रदर्शन गरिएको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समितिले सरमुकाम फिदिमस्थित लिम्बुवान गेट अगाडि कोणसभा गरी ‘कोशी प्रदेश’ नामाङ्कनको बिरोध गरेको हो । कोण सभामा किरात याक्थुङ चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङले जनप्रतिनिधिहरुले जनताको भावना विपरीत भूमिको अस्तित्व माथि बलत्कार गरेर कोशी नाम लिएर आएकाले सच्चिन आग्रह गर्दै सभ्यतामाथि गरेको उधाङगो प्रहार सहेर बस्न नसकिने बताए । उनले नसच्चिए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए । लिम्बुवान किरात संयुक्त संघर्ष समितिका प्रदेश संयोजक मधुराज केरुङ, जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँचथरका अध्यक्ष लक्ष्मण लाओती, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिन्जी शेर्पा, साँस्कृतिक पुनर्जागरण अभियानका सचिव कमलराज नेम्बाङले सम्बोधन गरेका थिए । वक्ताहरुले ऐतिहासिक पृष्ठभूमी, सभ्यता र पहिचानको आधारमा यो प्रदेश नाम लिम्बुवान किरात नामाङ्कन गर्नुको बिकल्प नभएको बताउँदै प्रदेशसभाबाट नामाङ्कन गरिएको ‘कोशी प्रदेश’ लाई खारेज गरी लिम्बुवान किरात राख्न माग गरेका थिए ।
किरात राई यायोक्खा पाँचथरका अध्यक्ष गणेश साम्पाङले सञ्चालन गरेको कार्यक्रम लिम्बुवान किरात संयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवाश तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार