माङसेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी

माङसेबुङ (इलाम)। प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीयस्तरमा केन्द्रित हुन थालेको हो ।

तस्वीरहरुः सुमन लावती
प्रदर्शनकारीले शुक्रबार इलामको माङसेबुङ गाउँपालिका कार्यालय र चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि आन्दोलनकारीहरुले माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिक ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ लगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
आइतबार प्रदेशव्यापी आम हड्ताल आह्वान गरेका छन् भने ५ चैतमा प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार