धरानमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्नुपर्ने कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समिति अनुरोध

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगन गरेर सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्ति गर्दै सो अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, `२०८० साल भदौ ९ गते हिन्दू धर्मावलम्बीहरू धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनी सामाजिक सञ्जालहरूमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनी गरिएको प्रचारप्रसारले नेपालको बुहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भावलाई विथोल्न सक्ने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबैपक्ष जिम्मेवार र संवेदनशील भई २०८० भदौ ९ गते धरानमा गर्ने भनिएको कार्यक्रम सामाजिक सद्भावको लागि स्थगन गर्न सम्बन्धित सबैपक्षलाई जोडदार आग्रह गर्दछौँ ।´

यस्तो छ, प्रेस विज्ञप्ति

भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगन गरेर सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौँ !

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् संवर्धन गर्ने भनेर नेपालको वर्तमान संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ ।

नेपालको विविध धर्म संस्कृतिहरूको आ–आफ्नै मौलिक विशेषताहरू रहेका छन् । सोही सन्दर्भमा किरात धर्म संस्कृति अपनाउने समुदायले मौलिक संस्कृति मनाउँदा गोरुको मासु अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ तर धर्मनिरपेक्ष मुलुक नेपालमा अहिले पनि केही ऐन कानुनहरूमा गोरुको मासु प्रयोग गर्न बन्देजको अवस्था रहेको कारण किरात धर्म संस्कृति अवलम्बन गर्ने समुदायमा असहज परिस्थिति रहेको छ र यसै सन्दर्भमा केही दिन अगाडि सामूहिक भोजनमा गोरुको मासु प्रयोग गरिएको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको सन्दर्भमा पक्ष विपक्षमा भइरहेको टिकाटिप्पणी र गतिविधिहरूप्रति ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को तर्फबाट गम्भीर ध्यानाकर्षण गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।

१. २०८० साल भदौ ९ गते हिन्दू धर्मावलम्बीहरू धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनी सामाजिक सञ्जालहरूमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनी गरिएको प्रचारप्रसारले नेपालको बुहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भावलाई विथोल्न सक्ने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबैपक्ष जिम्मेवार र संवेदनशील भई २०८० भदौ ९ गते धरानमा गर्ने भनिएको कार्यक्रम सामाजिक सद्भावको लागि स्थगन गर्न सम्बन्धित सबैपक्षलाई जोडदार आग्रह गर्दछौँ ।

२. धर्मनिरपेक्ष संविधानमा रहन गएका धर्म सापेक्ष कानुनहरूले भविष्यमा पनि यस्ता खाले परिस्थिति निम्त्याउन सक्ने भएकाले प्रथाजनित कानुन (customary law) लाई मान्यता दिँदै खानेले खान पाउने र पुज्नेले पुज्न पाउने कानुनी व्यवस्था गर्न विरोधाभाषी कानुनहरू तुरुन्त संशोधन गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।

३. शान्ति र सद्भाव कायम राख्नु हामी सबैको कर्तव्य हो । त्यसैले भदौ ९ गते धरानमा कार्यक्रम हुने नै भएको खण्डमा उक्त कार्यक्रमबाट असहज परिस्थितिको सिर्जना हुन नदिन ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को तर्फबाट हजारौँको सङ्ख्यामा ‘पहिचानका लागि युवा’लाई स्वयम् सेवकको भूमिकामा सहभागी गराइने जानकारी सहित जिम्मेवारपूर्ण ढङ्गले भूमिका निर्वाह गर्न ‘पहिचानका लागि युवा’लाई अनुरोध छ ।

४. धरानमा धार्मिक द्वन्द्व निम्त्याउने नियतले २०८० भदौ ९ गते लड्ने भनी सामाजिक सन्जालबाट चुनौती दिँदै कार्यक्रम आह्वान गरेका हिंसा भड्काउने कार्यक्रम रोक्न नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासनले आयोजकसँग समन्वय गरी शान्ति सुरक्षा कायम गरोस् भनी जोडदार माग गर्दछौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर !
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् !
पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर !

२०८० भदौ ८ गते
प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार