विराटनगर : नेकपा विप्लव माओवादीसहितको सत्ताधारी समाजवादी मोर्चाले यही भदौ २५ गते विराटनगरमा गर्ने सन्देशसभाको पूर्वतयारीले पहिचानवादीलाई उत्साहित बनाएको छ ।
प्रदेशस्तरीय सन्देशसभाका कुनै पनि दस्तावेजमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगर्ने सहमतिले पहिचानवादी उत्साहित भएका हुन् ।
समाजवादी मोर्चाको अन्तिम सभाका रुपमा आयोजना हुन लागेको सन्देशसभाको व्यवस्थापकीय जिम्मेवारी पनि संयोगले जनता समाजवादी पार्टीले नै पाएको छ । पहिचानको मुद्दामा उक्त पार्टी प्रखर रुपमा उभिएको छ ।
जनता समाजवादी पार्टीका १ नम्बर प्रदेश समिति अध्यक्ष दीपक याख्खाले सन्देशसभाका तुल, ब्यानरसहितका अन्य दस्तावेजमा प्रदेशको नाम कोशी उल्लेख नगर्ने समझदारीले आफूहरूलाई उत्साहित बनाएको बताए ।
सन्देशसभालाई प्रभावकारी बनाउन बुधबार विराटनगरमा आयोजित तयारी बैठकमा अध्यक्ष याख्खाले सभामा प्रदेशका १४ वटै जिल्लाका चार पार्टीका सयौं नेता, कार्यकर्ता सहभागी हुने बताए ।
सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
विराटनगर बरगाछीको होटल मनास्लुमा हुन लागेका सन्देशसभामा झण्डै चार हजार सहभागी हुने अपेक्षा आयोजकले गरेका छन् ।
समाजवादी मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको धनगढीबाहेक यो अन्तिम सभा हुन गइरहेको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष बलदेव चौधरीले जानकारी दिए ।- उदघोष दैनिक


69 पटक हेरिएको 












