चुम्लुङको ११ औँ महाधिवेशन फाल्गनु २८, २९ र ३० गते पान्थर, फेदेनमा हुँदै

काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ११ औँ महाधिवेशन आगामी फाल्गनु २८, २९ र ३० गते पान्थर, फेदेनमा हुने भएको छ ।
चुम्लुङको महाधिवेशनले नेतृत्व चयनसँगै महत्वपूर्ण निर्णयहरु गर्दै आएको छ । यस महाधिवेशनमा पनि विविध विषयहरुमा गम्भिर छलफल हुने र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको चुम्लुङ केन्द्रीय सचिवालय टिमले जानकारी दिएको छ ।
हाल कियाचुको १३ वटा जिल्ला कार्यसमिति र २ वटा प्रादेशिक समिति रहेको छ । यस्तै ६ वटा विषयगत समितिहरु रहेको छ । लिम्बू सांस्कृतिक परिषद्, लिम्बुवान अध्ययन केन्द्र, लिम्बू भाषा, साहित्य प्रतिष्ठान, पुनःजीवन केन्द्र, याक्थुङ सहयोग कोष र उपत्यका एम्बुलेन्स सेवा यसको विषयगत समितिहरु हुन् ।

यसबीचमा विषयगत समितिहरुले आफूहरुले केन्द्रीय समितिमा प्रतिनिधित्व पाउनु पर्ने आवाज उठाउँदै आएको छ । विषयगत समितिहरु कियाचुको विधानमा रहेर आफ्नै छुट्टै विनियामवलीमा सञ्चालित हुँदै आइरहेको छ तर केन्द्रीय समितिमा प्रत्यक्ष सहभागीता हुँदैन् । जिल्ला कार्यसमिति र प्रादेशिक समितिबाट केन्द्रको लागि एक महिला र एक पुरुष रहने गरी केन्द्रीय सदस्यमा आउनु पाउने व्यवस्था छ । यस्तै पदाधिकारीको हदमा भने एक कार्यकाल केन्द्रीय समितिमा काम गरेकोले मात्र पाउने व्यवस्था गरिएको छ । अध्यक्षको भने दुई कार्यकाल गर्न पाउने व्यवस्था रहेको छ । हालका अध्यक्ष योगराज वनेमको एक कार्यकाल मात्र पूरा भएको छ भने नेतृत्व टिम कस्तो आउँछ भन्ने सबैमा चासोको विषय बनेको छ ।
हाल समसामयीक चर्को विवादित विषयहरुलाई पनि कुन रुपमा अगाडि लैजान्छ भन्ने बारेमा पनि सबैको चासो बनेको छ । साथै लिम्बू समुदायको प्रतिनिधिमुलक साझा संस्था भन्ने चुम्लुङले आम समुदायको साझा नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्छ भन्ने पनि चासो बनेको छ ।

चुम्लुङको हरेक ३/३ वर्षमा महाधिवेशन हुने व्यवस्था छ । तर विश्वव्यापी कोरोना भाइरस महामारीको कारण गत वर्ष फाल्गुनमा हुने महाधिवेशन विद्यानले व्यवस्था गरे अनुसार एक वर्ष समय थपिएको थियो । थपिएको समय अवधि यहि फाल्गुनमा सकिन्दैछ । यसअघि दशौँ महाधिवेशन सुनसरी, धरानमा भएको थियो ।०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार