फिपराज बेघा
पथरी शनिश्चरे नगरपालिकाले २०७१ साल चैत २६ गते नगरको शरणार्थी शिविरमा तामझामका साथ प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको थियो । फोहोरमैला न्यूनीकरण गर्दै स्वच्छ वातावरण कायम राखी जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर न्यूनीकरण गर्न आवश्यक भएको भन्दै नगरपालिकाले प्रथम परिषद् गरी ‘पथरी शनिश्चरे नगरपालिका प्लाष्टिक झोला मुक्त कार्यविधि, २०७१’ जारी गर्यो । नगरपालिका, पथरी शनिश्चरे उद्योग वाणिज्य संघ र पथरी जेसीज, शान्ति सामुदायिक वन र पथरी बजार फोहोरमैला व्यवस्थापन समितिले संयुक्तरुपमा कार्यविधि निर्माण गरेको हो । कार्यविधिमा १५ बुँदा रहेको छ । तर, नगरमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा कार्यान्वयन नभएको पथरी बजारमा सब्जी व्यापार गर्दै आएका पुराना व्यापारी दिलकुमार वजी बताउँछन् ।
बुँदा नं. ३ मा प्लाष्टिक झोला बिक्री वितरण सम्बन्धमा भनिएको छ,
१. यो कार्यविधि लागू भएपछि कुनै पनि फर्म, कम्पनी वा व्यक्तिले प्लाष्टिक झोला पथरी शनिश्चरे नगर क्षेत्रमा बिक्री वितरण गर्न पाउने छैन ।
२. यो कार्यविधि प्रारम्भ हुँदाको बखत प्रचलित कानून बमोजिम बिक्री वितरण गरी मौज्दात रहेको प्लाष्टिक झोला वि.सं.२०७१ साल चैत महिनाको २० गते अगावै खपत वा उचित व्यवस्थापनगरी सोको जानकारी नगर अनुगमन समिति र पथरी शनिश्चरे उद्योग वाणिज्य संघलाई दिनुपर्नेछ ।
३. उपबुँदा २ को अवधिभित्र खपत वा उचित व्यवस्थापन नगरी मौज्दात हुन गएको प्लाष्टिक झोला नगर अनुगमन समितिले उचित तरिकाबाट बिसर्जन गर्नेछ ।
कार्यविधिले प्लाष्टिकको झोला बिक्री वा प्रयोग गरेमा कसुर मानेको कार्यविधिले ‘दण्ड सजाय’को व्यवस्था गरेको छ । नगरपालिकाको वातावरण शाखाका प्रमुख सुरेन्द्रकुमार राई भने, ‘प्लाष्टिकको झोला बिक्रेतालाई प्रथम पटकको लागि ३ सय, दोस्रोपटकदेखि हरेकपटक ५ सयको दरले जरिवाना र प्लाष्टिक झोला प्रयोगकर्तालाई पटकै पिच्छे १ सय जरिवाना तोकिएको छ ।’ पथरी शनिश्चरे नगरपालिका राजस्व शाखा प्रमुख तारा प्रसाद ढकालले कार्यविधिले दण्डसजाय तोकिए पनि हालसम्ममा नगरपालिकाले कसैलाई पनि जरिवाना स्वरूप राजश्व संकलन नभएको वताएका छन् ।
नगरक्षेत्रको सबैभन्दा ठूलो बजार पथरी बजार हो । पालिकाको वडा नम्बर १ मा पथरी बजार आइतवार र बिहीवार लाग्ने गर्छ । शनिवार पशुहाट कुशल चोकमा बजार लाग्छ । वडा नं. ४ मा अवस्थित कुशल बजार नगरको एक मात्र पशुहाट हो । नगरपालिकाले पथरीबजारमा ४ लाख १ हजार १ सय ५५ र कुशल वजारमा ७ लाख ६० हजारमा ठेक्का लगायो । वडा नं. ७ ले र्कीतिपुर वजार ७५ हजार , वडा नं. ८ ले सोमवारे बजार ३२ हजार १ सय ९४ र वडा नं. ९ ले ७८ हजार ६ सय ५० मा ठेक्का दियो। राजश्व शाखा प्रमुख ढकालले भने, ‘ नगरपालिकाले चालु आर्थिक वर्षमा ५ बजारबाट कुल १३ लाख ४६ हजार ९ सय ९९ रुपैया रुपैया राजश्व उठायो ।’
ठूला वजार वाहेक वडा नं. ३मा आइतवारे , सुन्दरी चोक, सिरिजंगा चोक , वडा नं. ४ मा नयाँ सोमवारे , सिरिसेडाडा, वडा नं. ५ स्थित सिमानामा सुगा वजार लाग्ने गर्दछ । त्यस्तै वडा नं. ६ मा हसन्दह, भातेगौडा , मंगलवारे , वडा नं. ७ मा किरात चोक, वडा नं. ८ मा मंगलवारे , दोहलु शुक्रवारे, वडा नं. ९ मा पुलचोक र वडा नं. १० मा सोमबारे बजार नियमित लाग्छ । रामनवमीको दिन भोटेघुम्ती, यले संवतको दिन यले मेला, मंसिरे पूर्णिमामा चासोक मेला, बैशाखे पूर्णिमाको दिन साकेला मेला, जातिरी/सिर्जात मेला धुमधाम लाग्छ । यसैगरी हसन्दहमा चमेरे मेला , गेलावारी मेला, सुघा मेला बर्षेनी लाग्दछ । मेला महोत्सव मात्र होइन, किनमेल हुने स-साना चोक दोकान सबै स्थानहरुमा प्लाष्टिक बिक्रेता र खरिदकर्ता प्रशस्त देखिन्छ । सार्वजनिक स्थानहरुमा प्लाष्टिकजन्य फोहोरहरु भटिन्छ ।
पथरी कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गुरुङले नगरपालिकाले प्लाष्टिक मुक्त क्षेत्र घोषणाका लागि केही पनि नगरेको बताए । ‘नगरले केही हेरेको छैन, ठेक्का लगाएर पैसा लानेदेखि बाहेक केही गरेको छैन ।’ उनले भने, ‘नगरपालिकाले गर्दा कार्यान्वयन भएन । सुरुसुरूम नगरपालिका र समितिले माइकिङ गरेको थियो । व्यापारीले केही समय छोडे पनि प्लाष्टिक बेच्न छोडेन । नगरपालिकाले कन्ट्रोल गर्नै सकेन ।’ प्लाष्टिक मुक्त क्षेत्र बनाउनका लागि नगर प्रहरी घुमाउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार पथरी शनिश्चरेमा ७२ हजार ४ सय ५१ जनसंख्या रहेको छ । १ दशमलव ६३ प्रतिशत बर्षिक वृद्धिदर रहेको नगरमा ३३ हजार ९ सय ८४ पुरुष र ३८ हजार ४ सय ६७ महिला को जनसंख्या रहेको छ । मोरङको उत्तर पूर्वी क्षेत्रमा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ, पथरी शनिश्चरे नगरपालिका । सुरुमा साविक पथरी गाविस र शनिश्चरे गाविसलाई मिलाएर २०७१ सालमा नगरपालिका बनाइएको थियो । स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई गाभेर २०७३ फागुन २७ गते हालको पथरी शनिश्चरे नगरपालिका स्थापना भएको हो । पालिकाबासीको मुख्य पेशा कृषि हो । पूर्वमा सुनझोडा खोला र बक्राहा खोला, दक्षिणमा डाँस खोला, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणीमा सुनवर्षी नगरपालिका छ । प्लाष्टिक बोक्न नदिने भनेर मात्र नहुने बताउँदै शान्ति सामुदायिक वन उपभोक्ता समितिका निर्वतमान कार्यवाहक अध्यक्ष हेम तमूले प्लाष्टिक बनाउने उद्योग नै बन्द गर्नुपर्ने र नगर क्षेत्रमा प्लाष्टिक आयातलाई रोक्न सके मात्र प्लाष्टिक मुक्त हुने बताउँछन् ।
नगरपालिकाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा गर्न बनेको ऐन, २०७६’ बनाएको छ । दफा ६६ वटा रहेको ऐनको १४ मा ‘प्रदुषण रोकथाम तथा नियन्त्रण गर्ने’, दफा १९ मा ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी व्यवस्था’ मात्र होइन दफा ५२ मा ‘सजाय तथा जरिवाना’ समेतको व्यवस्था गरेको छ ।
स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार संरक्षण गर्न प्राकृतिक स्रोतको समुचित उपयोग एवँ दिगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न तथा प्राकृतिक स्रोत वातावरण र जैविक विविधताको संरक्षण गर्न बाञ्छनीय भएकाले नगरपालिकाले २०७६ साल फागुन २६ गते ऐन स्वीकृति गरेको थियो । पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिपकुमार राईले प्लाष्टिकको विकल्प दिन नसकिएकाले प्लाष्टिक मुक्त क्षेत्र घोषणा कार्यान्वयन हुन नसकेको बताए । उनको कार्यकालमा ‘लघु उद्यम कार्यक्रम’ अन्तर्गत वडा नम्बर ९ मा कपडाको झोला बनाउने तालिम सञ्चालन गरेको थियो । नगरपालिकाले तालिममा सहभागीलाई उद्यमी बनाउने र झोला उत्पादन भएपछि प्लाष्टिक आयातलाई पूर्णरुपमा रोगलगायतको विस्तृत योजना बनाई प्लाष्टिक मुक्त क्षेत्रलाई कार्यान्वयन गर्ने योजना थियो । तर सो कार्यन्वयन भएन।


92 पटक हेरिएको 












