पथरी । इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन गरिएको छ ।
आज प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले सो नव निर्मित कार्यालय प्रमुख निवासको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख खापुङले १८ लाखमा चार कोठे पक्की भवन बनाएकोमा प्रहरी, स्थानीय पालिकाहरु र निर्माण समितिलाई धन्यवाद दिए । टेन्डर प्रकृयामा गएको भए १८ लाख बजेटमा एउटा व्यस्थित शौचालय पनि बन्न नसक्ने अवस्था रहेको डीआईजी खापुङ्गको भनाइ थियो । खरिद ऐनको कारण अमानतमा भवनहरु बनाउन समस्या भइरहेको भन्दै प्रहरीसँग जनशक्ति भएको कारण संघ र प्रदेशबाट सिद्धै स्थानीय तहमा बजेट आए सानो रकमले ठूलो काम गर्न सकिने खापुङ्गले बताए । टेन्टर प्रकृयामा जाँदा सानो भवनको लागि पनि एक करोड भन्दा माथिको बजेट हुनुपर्ने र त्यो भन्दा सानो रकमको भवन बनाउन मुस्किल पर्ने बताए ।
कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले शुभकामना मन्तव्य राखेका छन् । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख तुम्बापो, कानेपाखरी गाउँपालिका अध्यक्ष इङ्नाम लिम्बूले अस्थायी प्रहरी चौकीहरु स्थायी गर्न, भवन निर्माणको लागि विभागमा पहल गर्न र लागू औषध नियन्त्रणको लागि विशेष पहल गर्न प्रदेश प्रहरी प्रमुख डीआईजी खापुङलाई अनुरोध गरेका थिए । पालिका प्रमुखहरुले आफूहरु पनि लाग्ने र प्रहरी प्रमुखले आफ्नो विभागको तर्फबाट लाग्न अनुरोध गरेका थिए ।
निवास निर्माणमा सहयोग गर्ने संघ संस्था र व्यक्तिहरूलाई खापुङले प्रशंशा पत्र तथा कदर पत्र वितरण गरे । भवन निर्माणको लागि सहयोग गर्ने पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, पथरी उद्योग वाणिज्य संघ, रंङ रोगनमा सहयोग गर्ने राजेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका तत्कालीन इप्रका प्रमुख डीएसपी बेदप्रसाद गौतम लगायतलाई प्रसंशा पत्र प्रदान गरेको छ ।
इलाका प्रहरी कार्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनमा १८ लाख २१ हजार २ सय खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ ।
भवन निर्माणको लागि रुपनारायण भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त रकम पथरीशनिश्चरे नगरपालिकाबाट १२ लाख, कानेपोखरी गाउँपालिकाबाट ५ लाख ८० हजार र बाँकी रकम विभिन्न व्यवसायीहरुबाट संकलन भएको निर्माण समितिका सचिव ईश्वरी साप्कोटाले बताए ।


137 पटक हेरिएको 












