विराटनगर । नेकपा माओवादी प्रदेश १ संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो चयन भएका छन् ।
आज संसद सचिवालयमा बसेको दलको बैठकले मन्त्री आङ्बोलाई सर्वसम्मत चयन गरेको हो । ४० वर्षीय उनी पाँचथर प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । १५ हजार ६ सय ८५ मत प्राप्त गरेर विजयी भएका आङ्बो यस अघि पनि संसदीय दलका नेता थिए ।
माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङसमेतको सहभागिता थियो ।
माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीको दावीसहित गठबन्धनमा छलफल गर्न पार्टीका इञ्चार्ज कार्कीको संयोजकत्वमा समितिसमेत बनाएको छ । माओवादी केन्द्रले प्रदेशमा १३ जना प्रदेश सांसद जितेको छ ।


151 पटक हेरिएको 









