पथरीमा पनि ३०औं जनयुद्ध दिवस मनाइयो

पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेले ३०औं जनयुद्ध दिवस मनाएको छ।

नगर कमिटी अध्यक्ष गोविन्द कटुवालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सुस्लिङ  थिए । कार्यक्रममा ३०औं जनयुद्ध दिवस जिन्दावाद लेखिएको अक्षरमाथि दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

प्रमुख अतिथि लालबहादुर सुस्लिङले कार्यक्रममा सम्बोधन गर्दै जनयुद्धको गौरवशाली इतिहासलाई स्मरण गर्दै क्रान्तिकारी आन्दोलनलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए । उनले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै देशमा स्थायी शान्ति, समानता र समृद्धि कायम गर्न सबै माओवादी कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए । प्रदेश सल्लाहकार सदस्य बेदनिधि खनालले जनयुद्धको योगदानबारे चर्चा गर्दै सहिदहरूको बलिदानलाई कदर गर्दै अघि बढ्नुपर्ने बताए । प्रदेश कमिटी सदस्य नरेश घतानीले परिवर्तनको दिशामा अघि बढ्न जनताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउनु पर्ने बताए ।

नगर कमिटी सचिव राजकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरू, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जनयुद्ध, माओवादी पार्टी तथा वीर सहिदहरुप्रति सम्मान व्यक्त गर्दै विभिन्न क्रान्तिकारी नारा समेत लगाइएको थियो । सोही अवसरमा वक्ताहरूले जनयुद्धका उपलब्धिहरूलाई जोगाउन र परिवर्तनलाई संस्थागत गर्न सबै माओवादी कार्यकर्ताहरू दृढ सङ्कल्पित हुनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार