पथरी । प्रजनन स्वास्थ्यसम्बन्धी आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव फिस्टुला तथा निःसन्तान समस्याको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको तालिमको समापनसँगै प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाण–पत्र वितरण गर्नुका साथै तालिमबाट प्राप्त ज्ञान र सीपलाई सेवाग्राहीको हितमा प्रभावकारी रूपमा उपयोग गर्न आग्रह गरे । कार्यक्रममा नगर स्वास्थ्य अधिकृत जगतप्रसाद मगर तथा एकराज खत्रीले पनि प्रजनन स्वास्थ्य सेवाको महत्व, स्थानीय तहमा यसको प्रभावकारी व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरूको भूमिकाबारे धारणा राखेका छन् । यसैगरी सो कार्यक्रम आधारभूत स्वस्थ्य सेवा केन्द्र एकका स्वास्थ्य संस्था प्रमुख निर्मला विश्वकर्माले पनि आफ्ना धारणा राख्नुहुँदै सहजीकरण गरिन्।
नगरपालिकाका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ जेठ ८ गतेसम्म तथा यस अवधिमा सञ्चालन गरिएका तालिम कार्यक्रमहरूसमेतको अवधिमा नगरभित्रका ११ वटा संस्थामार्फत प्रजनन रुग्णतासम्बन्धी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। उक्त अवधिमा १ हजार १ सय २७ जना सेवाग्राहीको स्क्रिनिङ गरिएकोमा विभिन्न प्रकारका प्रजनन स्वास्थ्य समस्या पहिचान भई आवश्यक परामर्श, उपचार तथा जटिल प्रकृतिका समस्याको व्यवस्थापन गरिएको थियो । आवश्यक परेका बिरामीहरूलाई सम्वन्धित अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमले नगरभित्रका महिलाहरूमा रहेका प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको समयमै पहिचान, उपचार तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुगेको निष्कर्ष निकालिएको थियो ।


1 पटक हेरिएको 




