विद्यार्थीहरूलाई जुत्ता तथा मोजा वितरण

काकटभिटा  । ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ को सक्रियतामा मेचीनगरमा विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरिएको छ। कालिका आधारभूत माध्यमिक विद्यालय (मेचिनगर१५-झापा)मा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई जुत्ता तथा मोजा वितरण गरिएको हो।

​संस्थाकी संस्थापक अध्यक्ष यमन शर्मा पौडेलले आफ्नो व्यक्तिगत खर्चमा कुल ३५ हजार रुपैयाँ बराबरको उक्त सामग्री सहयोग गरेकी हुन् । पौडेलले आफ्ना पूजनीय बुबा शेर बहादुर सेनेहाङ लिम्बुको दशौँ पुण्य तिथि तथा आफ्नो शुभ जन्मोत्सवको पावन अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। ​विगत लामो समयदेखि दुःख र संकटमा परेका नागरिकका लागि देशव्यापी रूपमा ठूलो सहारा बन्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले यसपटक विद्यालय स्तरका बालबालिकाहरूलाई लक्षित गरी यो अभियान चलाएको हो। फजुल खर्च गरेर जन्मदिन मनाउने विकृतिको सट्टा विपन्न तथा आवश्यकतातर्फ रहेका बालबालिकाहरूलाई प्रत्यक्ष राहत पुगोस् र बुबाको स्मृतिलाई पनि सेवाभावसँग जोड्न सकियोस् भन्ने पवित्र उद्देश्यले यो कार्यक्रम गरिएको सहयोगी पौडेलले बताइन्  । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजक गंगा देवी भट्टराई, सह-संयोजक रोशनी खनाल, झापा जिल्ला सदस्य प्रमिला उप्रेती तथा आजीवन सदस्य सरु सुब्बा लगायतको उपस्थिति रहेको थियो। ​संस्थाले विद्यालयका बालबालिकाहरूको शैक्षिक प्रोत्साहनका लागि गरेको यो मानवीय कार्यको उच्च प्रशंसा बिद्यालयले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार