पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा गत जेठ २८ गते दुर्गा बहादुर भुजेलको उपचारका क्रममा भएको मृत्यु प्रकरण छानविन समितिको प्रतिवेदनको प्रगति विवरण सार्वजानिक गरिएको छ ।
शुक्रबार नगर अस्पतालको सभाकक्षमा प्रतिवेदन प्रस्तुतिपछि नगर प्रमुख तुम्वापो र मृतकका छोरा धर्मेन्द्र भुजेल बीच छलफल गरी अस्पतालबाट नगरवासीलाई अझ प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने, सुधार गर्नुपर्ने सेवाहरूलाई थप व्यवस्थित बनाउँदै अस्पताल मजबुत ढंगले सञ्चालन गर्ने विषयमा सहमति भएको हो ।
सहमतिपछि अस्पतालको सेवा प्रवाहलाई थप गुणस्तरीय, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अस्पतालमा हाल आकस्मिक २४ सै घन्टा सेवा, २४ सै घन्टा आकस्मिक सेवामा मेडिकल अधिकृत (चिकित्सक) उपलब्धता, २४ सै घण्टा ल्याव सेवा, उपचारमा संलग्न तीन जना स्वास्थ्यकर्मीलाई कार्वाही, अस्पताल परिसरमा २४ सै घन्टा एम्बुलेन्स रहेका छन् । यस्तै अस्पतालको सुधारको क्रममा रहेका विषयहरु पनि प्रतिवेदनमा समावेश गरिएको छ । उक्त कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवं छानविन समितिका संयोजक उद्धवराज बस्नेत, वडा नं. २ का वडाध्यक्ष नैना राई, अस्पतालका कर्मचारीहरू, छानविन समितिका सदस्यहरु एवं समाजसेवी काबुलबहादुर मगर र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


21 पटक हेरिएको 




