पथरी । आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल उत्कृष्ट प्रधानाध्यापक भएकी छिन् ।
पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक मध्ये धिमाल छानिएकी हुन् । पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले धिमाललाईबउत्कृष्ट प्रधानाध्यापक घोषणा गरेको हो । पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक मध्ये धिमाल छानिएकी हुन् । उनीसँगै शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरिएको छ । उत्कृष्ट आधारभूत तह शिक्षकतर्फ आदर्शकी शिक्षिका राजमाया राई, उत्कृष्ट माध्यमिक तह शिक्षकतर्फ भागीरथ माध्यमिक विद्यालयका शैलेन्द्र बस्नेत तथा उत्कृष्ट प्रारम्भिक बाल विकास सहजकर्तातर्फ हिरक आधारभूत विद्यालयकी मायादेवी दाहाल सम्मानित भएका छन् । सम्मानित चारै जनालाई जनही नगद १३ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष अर्जुनकुमार बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरे । सम्मानितहरूको तर्फबाट रिता कुमारी धिमाल र शैलेन्द्र बस्नेतले सम्मानले थप जिम्मेवारीका साथ शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले शिक्षक सम्मानको परम्पराले शिक्षण पेशाप्रति थप उत्साह र जिम्मेवारी बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगरको शिक्षा शाखा सदस्य एवं वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, विद्यालयका प्रधानाध्यापक र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


21 पटक हेरिएको 




