४ सय नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश 

बेलबारी(मोरङ) । मोरङको बेलबारी मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सयौँ नेता तथा कार्यकर्ताले पार्टी छोडेका छन। उनीहरूले पार्टीको पछिल्लो राजनीतिक कार्यशैली, संगठन सञ्चालनको तरिका तथा नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । बेलबारी ११ मा आयोजित एक कार्यक्रमका बिच नव प्रबेशीहरुलाई पार्टी अध्यक्ष हर्कराज साम्पाङ्लगायतले स्वागत गरेका हुन् । पार्टी प्रवेश  गर्नेहरूमा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, नगर सदस्य, वडा सदस्य तथा सङ्गठित सदस्यहरू रहेका छन् । उनीहरूले आफूहरू आजको मितिदेखि नेकपासँग रहेको सम्पूर्ण सदस्यता तथा राजनीतिक सम्बन्ध समाप्त गरेको घोषणा गरेका छन् ।
पार्टी एकीकरणपछि समायोजनका नाममा कुनै छलफल, संवाद वा जानकारीबिना निर्वाचित जिम्मेवारीबाट हटाइएको आरोप लगाइएको छ । यसले पार्टीको विधि, पद्धति, आन्तरिक लोकतन्त्र तथा निर्वाचित नेतृत्वको सम्मानमाथि गम्भीर आघात पुगेको उनीहरूको निष्कर्ष रहेको छ ।
पार्टी प्रवेश गर्नेहरूमा बेलबारीका तिलकप्रसाद राई, मनकुमार गुरुङ, रामकुमार राई, सन्देश तामाङ, सन्जोग राई, शर्मिला लुंगेली मगर, खड्गबहादुर सुन्दास, दिल तामाङ लगायत केन्द्रीय, प्रदेश, नगर तथा विभिन्न तहका जिम्मेवारीमा रहेका नेताहरू समावेश छन् । पार्टी परित्याग गर्ने समूहले आफूहरू अब श्रम संस्कृति पार्टीमार्फत राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार