सिरिजङगा (पथरी)। पाँचौँ सिरिजङगा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सिरिजङगा स्पोर्टिङ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा सिरिजङगाले टाडी स्पोर्टिङ क्लब मिक्लाजुङलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सिरिजङगा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीका सञ्जय लिम्बू र सुबास तामाङले गोल गरे। टाडीका तर्फबाट ओसन चाम्लिङ राईले एक गोल फर्काए। खेलको पहिलो हापमा आयोजक सिरिजङगाले दुई गोलको अग्रता बनाएको थियो। सञ्जय लिम्बूले पहिलो हापको आठौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ११ मिनेटपछि अर्थात् १९औँ मिनेटमा सुबास तामाङले अर्को गोल थप्दै अग्रता २–० बनाए। दोस्रो हापमा खेलमा फर्कने प्रयास गरेको टाडीका ओसन चाम्लिङ राईले १४औँ मिनेटमा गोल गर्दै अन्तर घटाए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका टाडी स्पोर्टिङ क्लबका रोनिस राई म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बुधबार लेटाङको सुकेचौरी एफसी र उर्लाबारीको गोर्खा युनाइटेड एफसीबीच हुनेछ। विजेताले उपाधिका लागि आयोजक सिरिजङ्घा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
सिरिजङगा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


20 पटक हेरिएको 












