प्राचीन किरातजाति मध्येका लिम्बु सामुदायको भाषा लिपि धर्म संस्कार संस्कृति इतिहास आदिको संरक्षण र उत्थानको निमित्त स्थापना भएको किरात याक्थुङ चुम्लुङको संरक्षणीय संस्थालाई चिनाउने प्रतिक चिन्ह (लोगो) लाई सिलाम साक्मा भनिन्छ । लिम्बु बोलीचालि सरलभाषामा बोलिने शब्द सिलाम साक्माको शाब्दिक अर्थ मृत्युको बाटो छेक्ने भन्ने हुन्छ । आदिमजाति लिम्बुहरुको पुरोहित फेःदाङमा साम्बा येःबाहरुले पूजा आजाहरुमा प्राचीनकालदेखि नै प्रयोग गर्दै आएको सिलाम साक्मा अति प्राचीन प्रतिक चिन्ह हो । मुन्धुममा यो प्रतिक चिन्हलाई येःतकुदिङ साङफेः भनेको पाइन्छ । येःतकुदिङ साङफेःको अर्थ पृथ्वीलोकदेखि माथिका आठपवित्र लोकहरुको प्रतिक भन्ने हुन्छ । मुन्धुमअनुसार पृथ्वीलोक बाहेक पृथ्वीलोकदेखि माथितिर अन्य आठपवित्र देवलोकहरु विद्यामान रहेकाछन । उक्त आठपवित्र देवलोकहरुमा रहने देवी देवताहरुको सम्बन्ध पृथ्वीलोक र प्राणीहरुसंग निकट रहेकोछ भन्ने ज्ञान उक्त प्रतिक चिन्हबाट पाइन्छ । आठपवित्र लोकहरुको आकृति माङयोक बनाउदा घुङरिङ प्रयोग गरिन्छ । आत्मा बासबस्ने केहि वनस्पतिहरु मध्य घुङरिङ एउटा वनस्पति भएकोले घुङरिङ प्रयोग गरिएको हो । सिलाम साक्मा वा येःतकुदिङ साङफेः बनाउदा घुङग्रिङको दुइ वटा लठ्ठी बराबर लम्बाइको बनाएर उक्त दुवैलठ्ठीलाइ खिपेर सयपत्री पूmलको थुगा भैmं नौनौथुगा भएको दुइवटा लठ्ठीलाई बिचमा जोडेर काँचो धागोले बाँधेर थुगैपिछे वरिपरि धागोले नौ फेरो बेर्दा नौ तल भएको चारवटा टुप्पो चारदिशा फर्केको एउटा चारकुने आकृति बनिन्छ । चारदिशा फर्केको चारवटा तुप्पोको तात्पर्य पुर्व पश्चिम उत्तर दक्षिण चारदिशाको प्रतिनिधित्व हो । उक्त येःतकुदिङ साङफेः तयार भएपछि भुइमा चोखो माटोले लिपपोत गरेर पूजारीले मुन्धुम विधिले संकल्प गरेर साङफेःको पहिलो टुप्पोलाइ उत्तरदिशातिर फर्काएर राखेर (वयागेःन सायामुदेःन साम्माङ) जो बोली भाषा लिपि विद्यादिने देवलाइ थानमान दिएर पूज्नेगर्दछ । साङफेःको दोश्रो टुप्पोलाइ पुर्वदिशातिर फर्काएर राखेर (थुङजिरि थुङदाङबा साम्माङ माङहाङ) जो देवी देवताहरुको राजालाइ थानमान दिएर पूज्नेगर्दछ । साङफेःको तेश्रो टुप्पोलाइ दक्षिण दिशातिर फर्काएर राखेर (खवालुङ थाक्फुत माङ) जो सिद्घि शक्तिदिने देवलाइ थानमान दिएर पूज्ने गर्दछ । साङफेःको चौथो टुप्पोलाइ पश्चिमदिशातिर फर्काएर राखेर (पुङजिलि पुङसाम्माङ) जो देवदण्म राजदण्ड मृत्युदण्ड आदि दिने देवलाई थानमान दिएर पूज्नेगर्दछ । त्यसर्थ चारदिशा भएको साङफेःको अर्थ चारदिशाको सेवा भन्ने हुन्छ । नौतला भएको साङफेःको अर्थ, आठ पवित्रलोकहरु र पृथ्वीलोक जोडदा नौलोक हुने भएकोले नौतलाको साङफेः बनाइएको हो । चारदिशा सेवा लगाएपश्चात लधुङसेमी उठाएर पवित्रनौलोकहरुको प्रतिकमा माङयोक बनाएर सेवा लगाउने परम्परा परापूर्वकालदेखि भइआएको किरात मौलिक परम्परा हो । पछिबाट समय कालखण्डको लामो अन्तरालपछि परिस्थितिवश माङयोकको सट्टामा अन्नको सेतोपिठोले रेखा कोरेर येःतकुदिङ साङफेः बनाउने र घुङग्रिङ खिपेर सिलाम साक्मा बनाएर (माङखःमा) कल्याणकारी पूजा । (माङनेःमा) मधौरो उपचार सेवा । (यायेप) शान्तिकारी सेवा (तङसिङ) ग्रहशान्ति सेवा गर्ने भए भन्ने मुन्धुमबाट बुझिन्छ । नौ तला भएको माङयोकको तात्पर्य मुन्धुममा निम्न भैm पाइन्छ ।
१.इक्सादिङ खाम्बेकतेःन (पृथ्वीलोक) साङफेःको पहिलोतला (इक्सादिङ खाम्बेकतेन) पृथ्वीलोकको प्रतिकमा बनाइएको हो । वनस्पति कीट पतङ्ग पशु पंक्षि प्राणीहरु जन्मने जीउने कर्मगर्ने अनि एकदिन मरेर जानेलोक केवल पृथ्वीलोक इश्वरले बनाइदिनु भएकोले गर्दा पहिलोतला पृथ्वीलोकको प्रतिकमा राखिएको हो ।
२. सामयुक्नादेःन (आत्मालोक) साङफेःको दोश्रोतला (सामयुक्नादेःन) आत्मालोकको प्रतिकमा बनायएको हो । आत्मालोक पृथ्वीलोकदेखि माथितिर रहेको छ । जडशरीरधारी मानिस यस पृथ्वीलोकबाट एकदिन मरेर जानुपर्दा माटोबाट उब्जेको खाद्यपर्दाथ खाएर पृथ्वीलोकमा लागेको जडशरीर माटोमै मिलेरजाने अनि शरीरको मृत्यु पश्चात मृत्य शरीरको आत्मा माथिका देवलोकहरुमा लीनभएरजाने भएकोले गर्दा मानिस मर्नुपर्दा आत्मालाइ मुन्धुम विधिले मुक्तिदिएर आत्मालोकमा पुरयाउनु पर्ने भयो । मुन्धुम विधिले आत्मालाइ मुक्ति दिने संस्कार कर्मलाई सामसामा मुन्धुम भनिन्छ । संस्कारकर्म गरेपछि आत्माले मृत्यशरीरलाई छोडेर सिधामाथि आत्मालोकमा पुग्छ भन्ने विश्वास भएकोले गर्दा दोश्रोतला आत्मालोकको प्रतिकमा राखिएको हो । ३.ताङसाङदेःन आकाशलोक) साङफेःको तेश्रो तला (ताङाङदेःन) आकाशलोकको प्रतिकमा बनाइएको हो । आकाशलोक आत्मालोकदेखि माथितिर रहेको छ । आकाशलोकमा प्रकाशरुपी देवी देवताहरु रहन्छन । स्वास प्रस्वास भएका हाड मासुले बनिएका जडशरीधारी प्राणी आकाशलोकमा छैनन । दुःख पिडा अशान्ति आकाशलोकमा हुदैन । मृत्यशरीरबाट मुक्ति पाएर आत्मालोकमा पुगेर रहेका मृत्यशरीरका आत्माहरु आकाशलोक पारगरेर जानुको निमित्त पितृदेवहरुलाइ पुकारा गरेर (हाङसाम इक्वा) दैवीद्वारहरु मुन्धुम विधिल उघार्दै जानुपर्छ भन्ने विश्वास भएकोले गर्दा तेश्रोतला आकाशलोकको प्रतिकमा राखिएको हो । ४.मुधाङखारादेःन (न्यायलोक) साङफेःको चौथोतला (मुधाङखारादेःन) न्यायलोकको प्रतिकमा बनाइएको हो । न्यायलोक आकाशलोकदेखि माथितिर रहेको छ । मृत्यशरीरबाट निस्केरगएका आत्माहरुलाइ जाँच गर्ने लोक न्यायलोक हो । मृत्यशरीरका आत्माहरु न्यायलोकमा पुगेपछि पृथ्वीलोकमा जीवित रहदा आफुले गरेका भोगेका कर्म अकर्म पाप पुण्य सबैकुराहरु आफ्नो अनुहार ऐनामा छर्लङग देखेभैंm देख्नु पाइन्छ अनि आफ्नो कर्मको फल अनुसारको नया जीवनचोला पाइन्छ भन्ने विश्वास भएकोले गर्दा चौथोतला न्यायलोकको प्रतिकमा राखिएको हो । ५.सुनाइङदङदेःन (सत्यलोक) साङफेःको पाँचौ तला (सुनाइङदङदेःन) सत्यलोकको प्रतिमा बनाइएको हो । सत्यलोक न्यायलोकदेखि माथितिर रहेको छ । सत्यलोकमा मुहिगुम ओङसीहरु नामइङहाङ, लाइङहाङ, साम्बङहाङ, येःतइङहाङ महान महात्मा महर्षि अन्तरयामी सन्त महन्त ऋषि मुनि योगीहरु यज्ञकुण्डमा बसेर तागेःरा निङवाभूमा माङ इश्वरको सेवाभक्तिगर्दै रहन्छन । जबजब पृथ्वीलोकमा पाप बढदछ तबतब सत्यलोकबाट पृथ्वीलोकमा आएर मानिसरुप धारण गरेर मानिसहरुलाई धर्म कर्मगर्ने अलौकिक दिव्यज्ञानहरु दिन्छन् भन्ने विश्वास भएकोले गर्दा पाँचौतला सत्यलोकको प्रतिकमा राखिएको हो ।
६.सेसेवादेःन (उज्ज्वललोक) साङफेःको छैटौ तला (सेसेबादेःन) उज्ज्वललोकको प्रतिकमा बनाइएको हो । उज्ज्वललोक सत्यलोकदेखि माथितिर रहेको छ । देवलोकहरु उच्चलोक मध्यमलोक र निम्नलोक हुन्छन । (सेजोनु, वाजोनु र तङजोनु) सतगुण रजगुण र तमोगुण धर्मका गुणहरु उज्ज्वललोकमा छुटिन्छन । उज्ज्वललोकमा अति पवित्र आत्माहरु मात्र जानपाउछन । कुनै महात्मा महर्षि सन्त महन्त योगी ऋषि मुनि योगी आदि धर्मगुरुहरुले पनि यो लोकमा अपवित्र आत्माहरुलाइ लानु सक्दैनन । उज्ज्वललोकमा देहबन्धन कर्मबन्धन जन्मबन्धन मरणबन्धन हुँदैन भन्ने विश्वास भएकोले गर्दा छैटौँ तला उज्ज्वललोकको प्रतिकमा राखिएको हो । ७.माङखोमादेःन (तपलोक) साङफेःको सातौतला (माङखोमादेःन) तपलोकको प्रतिकमा बनाइएको हो । तपलोक उज्ज्वललोकदेखि माथितिर रहेको छ । सम्पुर्णलोकमा हुने सेवा भक्ति प्राथना योग साधना यज्ञ ऋचा मन्त्र आदि सबै तपलोकमा गुञ्जायमान हुन्छन । जस्लाइ मुन्धुममा सेःवालुङधुङ भनेको पाइन्छ । तपलोकमा महामान्यवर महादेवहरु सदा तागेरा निङवाभूमा माङ इश्वरको सेवा भक्ति जप तप गर्दैबस्दछन भन्ने विश्वास भएकोले गर्दा सातौतला तपलोकको प्रतिकमा राखिएको हो । ८.साङसाङदेःन(पवित्रलोक) साङफेःको आठौतला (साङसाङदेःन) पवित्रलोकको प्रतिकमा बनाइएको हो । पवित्रलोक तपलोकदेखि माथितिर रहेको छ । सृष्टिका मालिक तागेःरा निङवाभूमा माङ इश्वरले सुष्टिको सुरुमा (पोक्ला कुलुङ पोरोक्मी यामजिरि याम्फामी माङ) आत्मारुपी रुप धारणगरेर सृष्टिको आरम्भ गर्नुभएको थियो । उनै पोरोक्मी याम्फामीरुप सृष्टिका मालिक तागेःरा निङवाभूमा माङ जहाँ सम्झ्यो त्यहि आइपुग्ने मनज्ञानकि खानि स्वप्रकट इश्वरको सेवाभक्ति गर्दै पवित्रलोकमा बस्नुभएको छ भन्ने विश्वास भएकोले गर्दा आठौतला पवित्रलोकको प्रतिकमा राखिएको हो । ९.साङग्राम पेदाङदेःन (वैकुण्ठलोक) साङफेःको नौवौँ तला (साङग्राम पेदाङदेःन) वैकुण्ठलोकको प्रतिकमा बनाइएको हो । बैकुण्ठलोक सबैलोकहरुभन्दा माथितिर रहेको छ । अखण्ड ज्योतिपुञ्जको स्वयम उज्यालोमा त्यसैत्यसै चम्किरहेकोलोक बैकुण्ठलोकमा जून घाम तारा केहि छैनन । उडौ उडौ नाचौ नाचौ लाग्ने झिलझिल स्वयम बलिरहेको उज्यालोको माझमा तागेःरा निङवाभूमा माङ इश्वर ऐश्वर्य र वैभवमान रहनु भएको छ भन्ने विश्वास भएकोले गर्दा नौवाँै तला बैकुण्ठलोकको प्रतिकमा राखिएको हो ।
किरातीहरु धेरैपहिले आफुलाइ माङसा हाङसा नामयाप्मीसा भन्ने गर्दथे । जस्को अर्थ देवता राजाका सन्तान सूर्यवंशी भन्ने हुन्छ । सूर्यवंशी भनेको जेठोसन्तान राजकुलवंश भनेको हो । पितापुर्खाले गरिल्याएको बिर्ता राजकाज धर्मकर्म रीतिथीति थाम्ने वंशको जेठोसन्तान हुन्थ्यो । समय कालखण्डको लामो अन्तरालपछि मानिस आफु आपैm ठुलो हुने आपैm राजाभएर राज्यगर्ने भएकाले धेरैराजा रजौटहरु भए । जेठोको सन्तान सूर्यवंशीमा रहेको सकल मुन्धुम ओझेलमा पर्नगइ अनेक धर्महरुको जन्म भयो । मुन्धुम भनेको धर्म होइन । तागेरा निङवाभूमा माङको अथाह शक्तिलाइ मुन्धुम भनिन्छ । मुन्धुमबाटनै सारासृष्टि भएको थियो । ०


258 पटक हेरिएको 










