विराटनगर । आज प्रदेश १ मा नयाँ सरकार बन्दै छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन् । प्रदेश प्रमुखले गत पुस १७ गते सरकार बनाउन दलहरुलाई आह्वान गरेका थिए ।
कस्को कति सासंद ?
९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।
सरकार बनाउन कति सासंद चाहिन्छ ?
सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले नेतृत्वको गठबन्धनसँग ६० जना प्रदेशसभा सदस्य भएकाले सरकार गठनका लागि सहज छ। नेकपा एमालेको ४०, नेकपा माओवादीको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टी नेपालको १ जना सांसद गरेको छ । तर मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका कारण सहमति जुट्न सकेको छैन्। सातवटै प्रदेशका मुख्यमन्त्री, सातवटै सभामुखको प्याकेजमै भागबन्डा हुने भएकाले सरकार गठनमा केही ढिलाइ भएको बताइएको छ।
के थियो प्रदेश प्रमुख आह्वान ?
माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूसमक्ष निर्वाचन आयोग, नेपालबाट प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९।०९।०२ मा प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस हुनआएकोले प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९।०९।२४ गते आइतबार बेलुकी ५ः०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ ।


126 पटक हेरिएको 












