विराटनगर । १ नम्बर प्रदेश सभामा ४० सासंद रहेको नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकार गठनका लागि दाबी पेश गर्ने तयारीमा छन । आज एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको हो । गठबन्धन दलको समर्थनमा सबैभन्दा ठूलो दल एमालेले सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ समझ दाबी पेश गर्दैछ ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमाले नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने बताए । सरकार गठनका लागि ४७ प्रदेश सांसद आवश्यक छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा ५८ वर्षीय कार्की मुख्यमन्त्री बन्ने तरखरमा छन् । २२ हजार ५ सय ३० मत प्राप्त गरी झापाबाट कार्की निर्वाचित भएका थिए ।
प्रदेश प्रमुख कार्यालयले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेको थियो ।


113 पटक हेरिएको 












